Skip to main content

ज्यान: एक हजारको

डा सन्देश दाहाल

एक डाक्टरको दैनिकी अस्पतालबाट सुरु भएर प्रायजसो अस्पतालमै अन्त हुन्छ। एक आवासीय चिकित्सकको त प्राय अस्पताल बाहेक अन्य दैनिकी नि हुदैन भन्दा नि धेरै फरक पर्दैन तेसैले मेरा प्राय ब्लगहरु नि अस्पतालका घटना मै आधारित हुन्छन हिजो दिनभरिको अप्रेसनको व्यस्त दैनिकीपछी ड्युटी भएकाले यसो इमर्जेन्सीमा बिरामी हेर्न गइयो सधैं जसो केहि न केहि अप्रेसनको केस हुने भए नि हिजो साँझ त्यस्ता बिरामी थिएनन खाना खाएर यसो पुस्तक पढ्न लाग्या थिएँ, एक घण्टा जतिपछी इमार्जेंसिबाट कल आयो, एक इमर्जेन्सी केस छ भनेर अनि तुरुन्त म त्यतैतिर लागें मैले आवासीय चिकित्सक भएर काम गर्ने अस्पताल नेपालको सबैभन्दा ठुलो र जेठो सरकारी अस्पताल हो यसका प्रत्येक दैनिकीले एक नया पाठ, र अध्याय स्थापित गर्छ प्रत्येक दिन केहि न केहि अप्राविधिक गैर-ब्यबसायिक समस्या संग जुध्नुपर्ने हुन्छ यहाँ एक आवासीय चिकित्सकले चिकित्सकको मात्र धर्म निर्वाह गर्न सम्भव हुदैन, यहाँ समय अनुसार कोहीबेला अक्सिजन मेकानिक, कोहि बेला बिरामी सार्ने वार्ड ब्वाई, जस्ता अनगिन्ति धर्म निर्वाह गर्नुपर्छ समग्र स्वास्थ्य वा अस्पताल प्रणालीमा जे कमि छ, त्यो भर्ने काम आवासीय चिकित्सकको हुनेगर्छ 


इमार्जेंसिको ६ नम्बरको बेडमा एक ४५ बर्षको अधबैसे मानिस पेटमा कपडा बानेर समाएर ऐया ऐया गर्दै बसेको थियो कपडामा रगत लत्पतिएको थियो उसको नजिकमा अरु कोहि मान्छे देखिन, सोचें औषधि लिन गएको होला अनि उ सगको कुराकानी मेरो परिचयबाट सुरु भयो मैले आफु आवासीय सल्यचिकित्सक भएको जानकारी दिएर उसको बारेमा सोध्न थालें थापामगर थरि भएको उसको घर निजगढ बारामा रहेछ, अनि काठमाडौँमा उ र उसकी श्रीमती बस्दा रहेछन ज्यामी गरेर घर खाने ति जोडी भएको पैसाले दुवैजना रक्सि खाएरबस्ने रहेछन त्यो दिन नि बिहान ११ बजेतिर उसले रक्सि खाएको रहेछ, र त्यसको नसाको सुरमा एक तल्लामाथि बाट लडेर पर्खालको तिखो फलाममा पेट उनिएर निकै ठुलो घाउ नै भएको रहेछ दिनभरी घाउबाट रगत आएछ, पेट दुख्न नि बढेछ, अनि साँझमा अत्ताल्लिएर अस्पतालको शरणमा आएको रहेछ चिकित्सकको धर्म हुन्छ, बिरामीको राम्रो वा नराम्रो निजि कुनै कुरामा चासो नराखी बिना आग्रह हामी रोगको निदान र उपचारमा सरिक हुन्छौ उसको रक्सि खाएर उत्पन्न गरेको स्वनिर्मित स्वास्थ समस्या थियो, तर मेरो चिकित्सकीय धर्मले त्यसको बारेमा judgemental हुन मलाई अनुमति दिदैन 


उसको श्रीमती खोइ भनेर सोधे मैले, उसले पैसाको जोहो गर्न गएको र केहि समयमा आउने कुरा बतायो मलाई पेटमा छेडिएको चोटपटक लागेको बिरामीको स्वास्थ्य गम्भीर हुनसक्छ, तेसैले आकस्मिक उपचारमा परिवार पर्खिने कुरा आएन नसाबाट औषधि सुरु गरियो, इमर्जेन्सीमा उपलब्ध भएका औषधि लिएर छालामा नदुख्ने औषधि दिएर घाउको निरीक्षण गरियो, घाउ निकै गहिरो थियो, आन्द्राको तहसम्म पुगेको यस्तो घाउमा विभिन्न खाले सम्भावना हुन्छन, आन्द्रामा प्वाल परेको, रगतको नली फुटेको, कलेजो वा फियोमा चोट लागेको आदि यस्तो बिरामीलाई मेडिकल प्रोटोकल अनुसार तुरुन्त जाँच, एक्स रे गराएर, रगतको व्यवस्था गरेर अपरेसनमा लैजानुपर्छ, बिना कुनै ढिलासुस्ती नत्र बिरामीको ज्यानमा नै खतरा हुन्छ सोहि अनुरुप इमर्जेन्सी बिभाग र प्रयोगशालाको समन्वयमा सबै जांच निशुल्क नै गराएँ, दुइ पोका रगतको व्यवस्था नि गराएँ उसलाई उसको स्वास्थ्य जोखिमको बारेमा सम्झाएँ, र परिवारको कोहि एक सदस्य मात्र आउने बित्तिकै अपरेसनमा लान सबै तयारी गरें बिरामीको आफन्तलाई कुरेर बिरामी हेर्दै इमर्जेन्सीमा नै बसिरहें 


महाबौद्धबाट सुन्धारा पुगेर आउन त्यत्रो समय नलाग्नु पर्ने हो मैले त्यसपछि उसको श्रीमतीको नम्बर मागेर फोन गरें, मोबाइल स्विच अफ भन्यो ४- ५ पटक कोशिस गर्दा नि सम्भव भएन अपरेसन गर्नुपर्छ, तर सम्भव नै देखिएन छटपटी भयो, बिरामीले आफैंप्रति जस्तो गरे पनि डाक्टरको हातमा आइसकेको बाच्ने व्यक्ति कुनै कारणले मृत्युको मुखमा पुग्नु कदापि राम्रो हैन यहाँ मलाइ ब्यबसयिकता र मानवताको फरक प्रस्ट भयो सायद म ठान्थे होला कि व्यवसायिक डाक्टर र मानवीयता भएको डाक्टर एकै हो दुइ घण्टा बितिसकेको थियो, अरु समय गुमाउनु भनेको बिरामीको ज्यानमा झन् समस्या निम्त्याउनु हो त्यसपछि मैले प्रहरीको सहयोग लिने विचार गरें, अनि अस्पतालमा ड्युटी गर्ने गौतम प्रहरी दाइलाई सबै कुरा भनें उनले कसो कसो गरेर बिरामीको डेरा पत्ता लगाए त्यहाँ अर्कै कहानी थियो, पैसाको जोहो गर्न गएकी श्रीमती टन्न रक्सि खाएर सुतिरहेकी रहिछन अब त्यो अवस्थामा कसैसग कुरो गरेर केहि फाइदा हुने देखिएन एकछिन त लाग्यो, जो व्यक्तिलाई आफ्नो माया छैन, जसको श्रीमतीलाई उसको श्रीमानको ज्यानको त्यो हदसम्मको बेपरबाह छ, त्यो ज्यानको निम्ति म किन यति भावुक भैरहेछु? तर फेरी मनले मानेन, ज्यान त अनमोल हुन्छ, जसको नै किन नहोस? मैले गरेको प्रयास सार्थक भयो भने कसैले त जीवन पाउँछ


म सगै ड्युटीमा सरोज भाइ नि थियो, उसको नि मन बिरामीलाई त्यतिकै छोड्ने पक्षमा थिएन त्यसपछि हामि दुइजना, प्रहरी दाइ बसेर समाधानको बारेमा कुरा गर्यौं वास्तवमा दुखको कुरो हो, देशको जो कोहिले पाउने बाच्ने अधिकार यहाँ हनन् हुन लागेको थियो जे होस्, हामीसग भएको सामान सबै जुटाइयो, अनि नपुग के रहेछ भनेर हिसाब गरियो अपरेसनका नर्सहरु, वार्डका स्टाफ, हामि सबैसग भएको सामान जोड्दा पनि बेहोस पार्ने औषधिहरु उपलब्ध भएनन् अनि औषधि पसलमा गएर नपुग औषधिहरुको दाम सोधियो, करिब हजार जस्तो रहेछ उधारो बिरामीले तिर्लाजस्तो लागेन, अनि प्रहरी दाई, इमर्जेन्सी डाक्टर र हामि मिलेर चन्दा उठाएर बाँकी समान जोहो गरेर राति दुइ बजे अप्रेसन सुरु गरियो पेटमा आधा लिटर रगत जमेको थियो, आन्द्रामा चोट थियो सायद त्यति दुख नगरेको भए उसको जीवनको दुखद अन्त हुनसक्थ्यो ५ बजेतिर अपरेसन सकियो बिरामी पोस्ट अपरेटिभ वार्डमा सारिएको छ, सुधार हुदै जाला, अपरेसन राम्रै भएको छ आज उसकी श्रीमतीलाई झलक्क देख्या थिएँ, कुरा गर्ने समय भएन, नत्र रिस, दया, र केहि जिज्ञासाले भरिएका केहि अनुत्तरित प्रस्नहरु सोध्न मन थियो


यो घटना नौलो हैन, हप्ता दुइहप्तामा यहाँका आवासीय चिकित्सकले भोगिरहेको घटना हो जो कोइ नै होस्, हरेक व्यक्तिका आफ्ना सिमितताहरु हुन्छन सबैले ब्यबसयिकता माथि उठेर सेवा गर्छन र गर्नुपर्छ भन्ने बाध्यता केहि छैन मूल समस्या के हो त? डाक्टरले चन्दा नउठाईदिए पैसा नहुने गरिब नेपाली जनता सरकारी अस्पतालको प्रांगण आएर नि मर्नुपर्ने हो त? भर्खर स्वास्थ्यमन्त्री भएका गगन थापा यहि अस्पताल निरीक्षण गर्न आज आउने भन्ने सुन्या थिएँ, किन हो भ्रमण भएन जस्तो लाग्यो नत्र म उनलाई ति बिरामी अवस्य नै भेटाइदिन्थें प्रत्येक दिन पत्रिकामा समाचार आउछन, फलानो व्यक्ति विदेश उपचार गर्न जान राज्यकोष बाट यति करोड निकास भयो रे इत्यादी इत्यादी यो असामंजष्य किन होला? कसैको जीवनको एक किस्ता करोडौं, र कसैको पुरा जीवनको मूल्य एक हजार? सय वा हजार त चन्दा निस्किन्छ, तर कति पटक? अनि जीवनको मूल्यको हिसाब किताबमा दस हजार हिसाब नपुग भयो भने के गर्ने? सरकारी अस्पतालमा लावारिस वा अतिगरिबका नाममा कोष हुन्छ रे, केहि गैर सरकारी संस्था नि यस्ता बिरामीका नामले पालिएका पोसिएका छन् रे, तर यथार्थमा त यस्ता कोष वा संस्थाका केहि पनि सकारात्मक परिणाम देखिएका छैनन् त? किन कसैलाई कसैको ज्यानको पर्वाह छैन? सरकारी अस्पतालमा त कोहि गरिब भएको कारणले नमर्नु पर्ने हैन र


सबै ठाउमा नकारात्मकता मात्र हुदैन, सकारात्मकता खोज्न नि सिक्नुपर्छ सरकार वा मन्त्रि वा कुनै खालको प्रशाशनको बिलौना वा तर्कले परिणाममा तात्विक असर गर्छ जस्तो मलाई लाग्दैन सरकार त निजीकरणलाई प्रोत्साहन गर्छ, स्वास्थ्य, शिक्षा, जस्ता आधारभूत नागरिक अधिकार निजीलाई सुम्पिन चाहन्छ त्यसैले त्यता बहस गर्नु समय खेर फाल्ने काम मात्र हो अब के रह्यो त बिकल्प? बिकल्प हुनसक्छ आजका दिनमा देखिएको नागरिक सचेतना र समाजलाई बदल्न मनदेखि रुची राख्ने नेपालीहरुको भावना भूकम्पमा देशका विभिन्न अस्पतालमा सयौंको संख्यामा किशोर किशोरीले स्वयम् सेवक भएर गरेको सेवा सम्झदा छाती गर्वले चौडा हुन्छ वीर अस्पतालमा अपरेसन गर्न आएका एक गरिब किशोरको कथा सेतोपाटीमा प्रकाशन भएपछी सहयोग गर्न अघि बढेका हातहरुले पनि आशाको किरण उजागर गर्दछ कसैलाई एक हजार एक छाक खाजा हो, त्यहि एक हजारले कसैको जीवन बच्दोरहेछ अस्पतालको प्रशाशनमा निबेदन बुझाएर हप्ता सम्म जिउ जिउ गर्नेले पाउने कोषले अकस्मात परेका बिरामीको जिबन बचाउन कदापी सक्दैन तेसैले हामी आफैले आफ्ना नेपाली दाजुभाइलाई बचाउन खोज्ने हो भने नागरिक तहबाट गर्न सक्ने सहयोग किन नगर्ने? आँखा अगाडी बच्न बचाउन सकिने बिरामीहरु मृत्युको मुखमा पुग्दा नमिठो गरि मन पोल्दो रहेछ हामी सबै मिलेर कसैको मुख नताकी हाम्रो तहबाट नै केहि गरौँ न





कसैलाई केहि प्रतिक्रिया दिनु भए drsandeshdahal@gmail.com मा सम्पर्क राख्नुहोला

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...