Skip to main content

स्वस्थ जीवनको निम्ति कस्तो खाना खाने?

डा सन्देश दाहाल


जीवन बाँच्न र शरीरले बिभिन्न कामहरु गर्नको निम्ति शक्तिको आवस्यकता हुन्छ/ हाम्रो शरीरमा शक्ति प्राप्त गर्न दुइ मुख्य दुइ कुराको आवस्यकता पर्छ, एक खाना र अर्को अक्सिजन/ शरीरको कोषभित्र खाना र अक्सिजनको रियाक्सन भएर नै हाम्रो शरीरमा शक्ति प्राप्त हुन्छ/ खाना आजको जमानामा शरीरको जरुरतमा मात्र सिमित छैन, खाना शोख पनि भएको छ/ आजकल हामीलाई खाएर मात्र पुग्दैन, स्वादिलो र बिभिन्न परिकार खानुपर्ने भएको छ/ आजको इन्टरनेटको जमानामा तरिका सिकेर संसारमा जुन देशको खाना जहाँ पनि बनाउन र खाना सकिन्छ/ यो राम्रो कुरा हो, यसले आनन्द दिन्छ/ तर हाम्रो शरीरलाई उपयुक्त हुने खाना खान जानिएन भने यसले बिभिन्न शारीरिक तथा मानसिक समस्या निम्त्याउन सक्छ/ आजको संसारमा सर्ने भन्दा नसर्ने रोगहरु जस्तै मुटुरोग, रक्तचाप, मधुमेह जस्ता प्राण घातक रोगहरु खानपिन संग सम्बन्धित छन्/ पोलेको मासु, र सागसब्जीमा प्रयोग गरेको बिषादीले क्यान्सर गराउने गरेको तथ्यहरु छन्/ यस्तो अवस्थामा खानपिनमा बिशेष ध्यान दिनु भनेको आफ्नै जीवन सुखी र लामो बनाउनु हो/ 


हामीले खाने खानामा के के हुन्छ ? 


हामीले खाने खानामा मुख्य तिन कुराहरु हुन्छन/ पहिलो कुरा हो कार्बोहाइड्रेट, जसको कम शरीरलाई शक्ति दिने हो/ एक ग्राम कार्बोहाइड्रेटले ४ किलो क्यालोरी शक्ति दिन्छ/ चिनी, भात, रोटी, अन्नमा यो तत्व प्रचुर मात्रामा पाइन्छ/ शरीरलाई आवस्यकभन्दा ज्यादा खायो भने यो कलेजो, मांसपेसीमा जम्मा हुन्छ, जुन खाना नखाएकोबेला प्रयोग हुन्छ/ अझ धेरै खाएमा कार्बोहाइड्रेट बोसोमा रुपान्तरण भएर शरीर मोटाउने हुन्छ/ दोस्रो कुरा प्रोटिन हो, जसले बिभिन्न कामहरु गर्छ जस्तै शरीर निर्माण गर्ने, मांसपेसी बनाउने, घाउ निको पार्ने, शरीरको प्रतिरक्षा प्रणाली मजबुत गर्ने, देखि कोशीका र रगतको प्राय सबै काममा प्रोटिनको मुख्य भूमिका हुन्छ/ लामो समय खान नपाएको अवस्थामा मांसपेशीको प्रोटिनले शक्ति दिने काम समेत गर्छ/ तेस्रो कुरा भनेको फ्याट जसमा तेल, घ्यु वा बोसो पर्दछन/ वातावरणीय तापक्रममा तरल हुने पदार्थ तेल हो भने जम्ने पदार्थ घ्यु वा बोसो हो/ यसको कम शरीरलाई शक्ति दिने हो/ एक ग्राम तेल वा बोसोले ९ किलोक्यालोरी शक्ति दिन्छ/ घ्यु वा बोसोको तुलनामा तेल शरीरलाई फाइदाजनक हो, किनभने घ्यु वा बोसो ज्यादा भएमा मुटु वा दिमागको रगतको नाली साँघुरो बनाएर यसले पक्षघात वा हृदय घात गराउन सक्छ/ माछामा भएको तेलले शरीरलाई फाइदा गर्छ, यसमा ओमेगा-३ भन्ने असल तत्व हुन्छ/ 


यसबाहेक खानामा भिटामिन हुन्छन, जस्तै भिटामिन ए, बि, सी, इत्यादी जसको कोषको तहमा बिभिन्न कामहरु हुन्छन, जस्तै भिटामिन ए ले छाला स्वास्थ्य राख्छ, भिटामिन के ले रगत जम्न मद्दत गर्छ आदि/ अन्य पोषण तत्वमा खनिज हुन्छन, जस्तै जिंक, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस आदि/ यस बाहेक हाम्रो शरीरलाई प्रत्येक दिन डेढ देखि दुइ लिटर पानीको आवस्यकता हुन्छ/ 


कस्तो खाना खाने ?


हामीले सधैं सन्तुलित खाना खानुपर्छ / सन्तुलित खाना भनेको कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, खनिज र फाइबर सन्तुलित भएको खाना हो/ सन्तुलित खानामा एक दिनमा एक मानिसलाई आवस्यक पर्ने जम्मा शक्तिमध्ये करिब ५०% कार्बोहाइड्रेटबाट, ३०% प्रोटिनबाट तथा २०% फ्याटबाट प्राप्त हुनुका साथै खानामा भिटामिन, खनिज तत्व प्रसस्त हुनु आवस्यक हुन्छ/ पानी पनि प्रसस्त पिउनु आवस्यक छ/ प्रोटिन हामीलाई एकदिनमा ६० देखि १२० ग्राम चाहिन्छ/ प्रोटिनको सबभन्दा राम्रो स्रोत अन्डा र मासु हो/ शाकाहारी खानामा पनि प्रोटिन हुन्छ, तर यसमा शरीरलाई आवस्यक एमिनो एसिड हुदैनन्/ तेसैले शाकाहारीले आवस्यक प्रोटिन प्राप्त गर्न प्रसस्त गेडागुडी र दूधजन्य पदार्थ मिलाएर खानुपर्ने हुन्छ/ खानामा फ्याटको मात्रा आवस्यकभन्दा धेरै हुनुहुदैन/ सामान्य तापक्रममा तेल हुने चिल्लोपदार्थ घ्यु वा बोसोको तुलनामा राम्रो मानिन्छ/ खानामा प्रसस्त फाइबर वा रेसा पनि हुनु जरुरि छ/ फाइबर भएको खानाहरुमा साग सब्जी, बोक्रा भएका फलफुल आदि पर्छन/ खानामा फलफुल पनि हुन आवस्यक छ/ नुनको मात्रा एक दिनमा ५ देखि १० ग्राम हुनुपर्छ/ धेरै नुन खाएमा यसले रक्तचाप बढाउने गर्छ/ खाना सकेसम्म बिषादी नहाली फलेको अर्गानिक हुनु स्वस्थकर हुन्छ/ आजकल नाफाको निम्ति खानामा मिसावट गर्ने जस्ता जघन्य अपराध हुनेगरेका छन्/ मासु पसलमा रोगले मरेको जनावरको मासु बेच्ने, तेलमा मिसावट गर्ने, अत्यधिक बिषादी भएको सागपात र फलफुल बेच्ने गरिएको छ/ तेसैले खाने कुरा किन्दा गुणस्तरीय होस् भन्ने कुरामा ध्यान पुर्याउनु पनि उत्तिकै जरुरि छ/ 


बच्चाको खाना पोषिलो हुनु अझ ज्यादा जरुरि छ किनभने खानाले नै बच्चाको शरीर तथा मस्तिस्कको बिकासमा भुमिका खेल्ने हो/ बढ्ने उमेरमा पोषण पुगेन भने बच्चा नबढ्ने मात्र हैन, उसको मानसिक विकास पनि राम्रो हुदैन/ अझ कुपोषण भयोभने त सुकेनास र फुकेनास भन्ने रोग नै लाग्छन/ बच्चाको खानामा प्रसस्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज हुनु आवस्यक छ/ हाम्रो जस्तो पिछडीएको समाजमा बिरामीले जाउलो मात्र खानुपर्छ वा जन्डिस भए पहेलो खानेकुरा खानुहुदैन, पखाला लाग्दा पानी खानुहुदैन भन्नेजस्ता अन्धबिस्वास छन्, जुन बिल्कुल निराधार र असत्य मात्र नभएर घातक अन्धबिस्वास हुन्/ बिरामीले झन् पोसिलो र सन्तुलित खानेकुरा खाए मात्र चाडै आराम हुन्छ/ 


खानाको कारण के के समस्या हुन सक्छन? 


आजको संसारमा नसर्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप, र बिभिन्न क्यान्सरमा हाम्रो रहनसहन र खाने शैलीले ठुलो भूमिका खेलेको हुन्छ/ नुन बढी खानाले उच्च रक्तचापको समस्या हुनसक्छ/ माछामासु र मैदाजन्य जसमा फाइबर कम हुन्छ, त्यस्ता खानाले कब्जियत गराएर मलद्वारको रोगहरु जस्तै पाइल्स, फिसरजस्ता समस्या हुनसक्छ/ बोसो अधिक भएको खानाले मोटोपन गराएर रक्तनलीमा बोसो जम्ने भएर हृदयघात, मस्तिस्कघात जस्ता घातक रोग निम्त्याउन सक्छ/ पोलेको मासुजन्य कुरा ज्यादा खाएमा ठुलो आन्द्राको क्यान्सर गराउँछ/ बिसादी मिसिएको खानाले क्यान्सरजस्ता समस्या निम्त्याउछ/ ज्यादा खाना वा संक्रमित खाना खाएमा अपच भएर झाडा-बान्ता हुनसक्छ/ मदिराको सेवन कुनै पनि रुपमा कुनै पनि अवस्थामा हानिकारक छ/ यसको नियमित प्रयोगले कलेजोको रोग हुन्छ साथै रक्सीले मानसिक रोग पनि बढाउछ/ धुमपान त खाने व्यक्तिलाइ मात्र नभएर सिंगो परिवारकै निम्ति हानिकारक हुन्छ/ धुमपान र सुर्तीजन्य पदार्थ जिउमा हुने प्राय सबै क्यान्सरको कारक हो / खाना खाँदा एकै पटक धेरै खानुभन्दा पटक पटक थोरै थोरै गरेर खानु राम्रो हो/ एकैचोटी धेरै खाँदा रक्तसंचार पेटमा गइ निन्द्रा लाग्ने, आलस्य हुने जस्ता समस्या हुन्छ/ बिहानको खाना धेरै वा धेरै उर्जा दिने खानु राम्रो हो/ साँझ सुत्ने बेलामा माछामासु वा धेरै खाना खानु राम्रो हैन/ सुत्ने बेला हल्का खाना र फलफुल खानु राम्रो हो/ 


यात्रामा के खाने? 


चाडबाडमा यात्रा गर्ने ठुलो जमात हुन्छ/ टीको लगाउन हिड्नेदेखी दशैंको बिदामा देश विदेश घुम्ने वा देशकै बिभिन्न भागमा ट्रेकिंग जाने/ यात्रा गर्दा पनि खानामा बिशेष ध्यान दिन सकेन भने ठुलो सास्ती व्यहोर्नुपर्ने हुनसक्छ/ यात्रा गर्दा दुइ तिन कुरामा बिशेस ध्यान दिनुपर्छ/ एकैपटक धेरै नखाने/ धेरै खाँदा रक्तसंचार आन्द्रामा गइ जिउ आलस्य हुन्छ/ तेसैले समयको अन्तरालमा थोरै थोरै खानुपर्छ/ कार्बोहाइड्रेट भएको खाना जसले आवस्यक शक्ति दिन्छ, त्यस्ता खानाहरु खाइराख्नु पर्छ, जस्तै चकलेट वा ग्लुकोज पानी/ दोस्रो कुरा, यात्रामा शरीरमा पानीको मात्र पुर्याउन पानी पिईराख्नुपर्छ/ शरीरमा पानीको मात्र न्यून भएमा नुन-पानीको सन्तुलन बिग्रिएर शरीर आलस्य हुने, कमजोरी महसुस हुनेजस्ता समस्या हुन्छ/ तेस्रो, सुरक्षित खानेकुरा मात्र खाने/ खानामा सुरक्षित नभए झाडाबान्ता हुनसक्छ/ जंक फुड यात्रामा सकेसम्म सेवन नगर्नु नै हितकर हुन्छ/ सकेसम्म यात्रामा पानीको व्यवस्था आफैले गर्नुपर्छ, वा उमालेको पानीमात्र खानु राम्रो हो/ 


समग्रमा खाना जीवनको लागि अत्वास्यक मात्र नभएर स्वादिस्ट खाना जीवनको रमाइलो पनि हो/ तर सहि खाना सहि तरिकाले सहि समयमा खान जानिएन भने त्यसले स्वास्थ्यमा गम्भीर असर पनि पर्न सक्छ/ 


धन्यबाद 





Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...