Skip to main content

झारफुके उपचारले हाम्रो स्वास्थ्यमा पारेको असर




डा सन्देश दाहाल                            
नेपालमा कोरोनाले मृत्यु भएको मानिसको अंग बेचबिखन हुन्छ भनेर मानिसमा भ्रम पैदा गरेको एउटा मानिस पक्राउ भएपछि उसको बारेमा अनुसन्धान हुँदा थाहा भयो, उसले केही पढेको जानेको छैन तर आफुलाइ डाक्टर भनेर ‘अन्तिम बिकल्प’ नामको क्लिनिक खोलेर धेरैलाइ क्यान्सर र एचआइभी निको पार्ने भनेर ठगी गरिरहेको रहेछ नेपालको राजधानीमै र उसकोमा मानिसहरु टोकन लिएर बसिरहेका रहेछन ठगिनको लागि। मलाइ याद छ, यो मानिसले एउटा युट्युब अन्तरवार्तामा आफुलाइ ‘भगवानले सपनामा क्यान्सर र एचआइभी निको मार्न सिकाएको’ भनेर दावी गरेको थियो।

आजको इन्टरनेट युगमा पत्रकार, र पढेलेखेका शिक्षकहरु पनि तथ्य नखोजी र नबुझी उसको कुरा सामाजिक संजालमा शेयर गरेका छन। उसको काम न त सरकारले अनुगमन गरेको छ न त मानिसहरुले उसको बारेमा तथ्य बुझ्ने कोसिस नै गरेका छन्। मानिसहरुको यो हदसम्मको दयनीय चेतनालाइ केही हदसम्म चिर्न यो लेख पुन शेयर गरेको छु। यो लेख पुरानो नै हो, मैले ३-४ बर्ष अगाडी लेखेको। यसको सान्दर्भिकता आज झन ज्यादा भएको जस्तो लाग्छ।

सानैदेखि भगवान र भूतको कथामा रमाउने समाज भएर होला, हाम्रो समाजमा चमत्कारमा हाम्रो अलि ज्यादा विश्वास छ, विज्ञान भन्दा। तेसैले आजको दिनमा पनि कयौं मानिसहरु छन् जो डाक्टरको सट्टा धतुरोको फुल मुखमा च्यापेर त्यसलाई पानीमा फुकेर दाँतको किरा झारेको भन्ने, पानीमा लुकाएर बेसार मिसाएर जन्डिस झारेको भन्ने बाबा बैद्य, र चुसेर पेटको पत्थरी निकाल्ने आदिजस्ता ठगहरुको बिश्वास गर्ने गर्छन।

वीर अस्पतालमा देखेका कति बिरामीहरु छन। सम्झिन्छु, एकपटक एकैदिन दुइजना जन्डिसका बिरामी भर्ना हुनुभयो, एकजना ६७ बर्षकी महिला र अर्की ९७ बर्षकी महिला। दुबैमा जन्डिस (bilirubin) को मात्रा २० भन्दा ज्यादा थियो (सामान्य अवस्थामा १ भन्दा कम हुन्छ)। दुवै बिरामीलाइ जांच गर्ने क्रममा सोध्दा थाहा भयो जन्डिस भएको ४- ५ महिना भैसकेछ। अनि किन अस्पताल नआउनु भएको भन्दा जडिबुटी आयुर्वेदिकको ग्यारेन्टीमा उपचार गरेको रे। अनि तीनमहिना पछी ठिक नभएपछी भिडियो आयुर्वेदिक मान्छेले एक्सरे गराएर उपचार गराउन अस्पताल पठाएको रे। जाँच गर्दा एकजनाको पित्तथैलीको र अर्कीको पित्तनलीको क्यान्सर भएर शरीरमा पुरै फैलिसकेको थियो। दुबै जना अपरेसन गरेर निको  हुने समय झारफुकमा बिताएर आउनु भयो, दुबैलाइ बचाउन सकिएन।

झापामा काम गर्दा पानीटंकी भन्ने भारतको ठाउँमा पाइल्स र फिस्टुलाको बिना अपरेसन उपचार गर्ने भनेर मानिसहरु जाने गर्दा रहेछन। त्यहाँ आन्द्राको क्यान्सर समेत थाहा नपाइ के के सुइ मलद्वारमा लगाएर रक्तस्राव भएर मरणासन्न भएर कति मानिसहरुलाइ आइसियुमा भर्ना गरेर ज्यान बचाइयो भने कति आन्द्राको क्यान्सर भएको बिरामी उनीहरुको भर परेर अकाल मृत्युवरण गर्ने अवस्थामा पुग्नुभयो। जव कि आन्द्राको क्यान्सर सुरुको अवस्थामा थाहा पाउँदा अपरेसन लगायत गरेर लामो समय बचाउन सकिन्छ।

यस्तै केही महिना अगाडी एकजना ४२ बर्षकी सिन्धुलीकी एक महिला भर्ना भइन, पेटको ट्युमर भएकोले। उनलाई पाँच महिना अगाडी दिसामा कालो रगत बगेको बेला धुलिखेल अस्पतालमा जाँच गर्दा ट्युमर पत्ता लागेर भक्तपुर क्यान्सर अस्पतालमा रिफर भएको रहेछ। त्यहाँ ठुलो आन्द्राको ट्युमर भएर अपरेसन गर्ने मिति दिएर पठाएको। उनको पनि यस्तै ग्यारेन्टीवालासँग भेट भयो र उपचार सुरु भयो। उनको तौल ५५ बाट ४० भयो, भिडियो एक्सरे बाट मात्र थाहा भएको ट्युमर ले पुरै पेट ढाक्यो। बिरामी लुटिसकेपछी ठगहरुले बल्ल थाहा पाए, अब बिरामी मर्छ। अनि ठेलिदिएछन वीर अस्पताल। अपरेसन हुन नसक्ने अवस्था थियो, केही दिनमा उनको मृत्यु भयो। उनको नाबालिग साना तीनजना छोरीहरु थिए, उनीहरुको झलझली याद आइरहन्छ अहिले पनि, अन्तिम समयमा आमाको सिरानीमा बसेर आँसु झारेको।

यी प्रतिनिधि घटना मात्र हुन्, पुरै देशमा एक सालको हिसाब गर्ने हो भने यो स्थिति भयाबह छ, ठगीको अर्थतन्त्र अरबौँमा पुग्छ होला। यस्ता झारफुकेले निको पार्ने जन्डिस भनेको हेपाटाइटिस ए र ई हुन्, जुन दुषित पानीले सर्छ र सामान्यतया उपचार नगरे पनि ३ हप्तामा ठिक हुन्छ। जन्डिसको कथित बैकल्पिक उपचारले कलेजो फेल भएर मरेका कयौं बिरामीका रिपोर्ट मिडियापत्रिकामा नआएका हैनन्। सुन्नमा आएको यस्ता ग्यारेन्टी उपचारमा झारपातको धुलोमा प्रेड्निसोलोन भन्ने औषधि मिसाएको हुन्छ, जुन अत्यन्त सावधानीसँग प्रयोग नगरे संक्रमण बढ्ने मात्र हैन, कलेजो, मिर्गौला खराब गर्ने देखि पेटको अल्सर फुट्नेजस्ता घातक समस्या निम्त्याउछ। क्यान्सरमा यो औषधी प्रयोग गरेमा शरीरको ट्युमर प्रतिरोधी क्षमता घटेर रोग फैलिन्छ। । माथिका प्रतिनिधि घटनामा बिरामीको उमेर हेरौं त, ७३ र ९३ कालगति मानेर चित्त बुझाउलान परिवारले, तर ४२ बर्ष र २९ बर्षका बिरामी कसैको गैर कानुनी धन्दाको कारणले मृत्युको मुखमा पुग्नु वा मृत्युबरण गर्नु त जघन्य अपराध भएन र

यसो हुनुमा विभिन्न कारणहरु छन्, कमजोर शिक्षा, जनचेतनाको कमी, ठग मनोवृति, सरकारी उदासीनता आदि त छदै छन्। बिरामीको यस्तो आचरणमा हामी अस्पताल वा चिकित्सामा प्रत्यक्ष परोक्ष सरोकार राख्ने सबै पक्ष दोसी छौं। बिरामीको दुख अस्पतालमा टिकट काउन्टरबाट सुरु भएर, सम्पूर्ण उपचार पद्दति देखि डिस्चार्ज काउन्टरसम्म चलिरहन्छ। उपचारकोको महंगी, रिपोर्ट ढिलाइ, बुझाउने प्रक्रियाको सुस्तता आदिजस्ता कारणले मानिसहरु अति नै नभई अस्पताल जान चाहँदैनन्।

बैकिल्पिक उपचार हुनुहुँदैन भन्ने तर्क गर्नु पनि हुदैन। भारतमा आयुर्वेद चिकित्सा, चीनमा पारम्परिक चिनिया चिकित्सा लगायत धेरै ठाउँमा यी प्रचलित छन् र बिस्वाशनीय पनि । तर उपचार गर्ने बैकल्पिक चिकित्सकले बिरामीको रोग के हो, यसका उपचार बिधि के के हुन्, बैकल्पिक उपचार पद्दतिका सफलता र सिमितताहरु के के हुन्, कुन कुन बेला अरुलाई बिरामी रिफर गर्ने भन्ने बुझेर उपचार पद्दति र बिरामीप्रति उत्तरदायी भएर उपचार गर्नुपर्छ। नसक्ने नहुने कुरामा ग्यारेन्टी दिएर बिरामीको विश्वासको गलत फाइदा उठाएर उनीहरुलाई विभिन्न स्वार्थमा मृत्युको मुखमा पुर्याउनु जघन्य अपराध हो। अस्पतालको सेवा लिन गार्हो मान्ने सोझासाझा बिरामीहरुको बिश्वासको गलत फाइदा उठाउने ठगहरुको यस्तो कदमले पलपल कोहि न कोहि बिरामीको ज्यान लिरहेको छ।

२०-२५ बर्ष पढेर ब्यबसायिक तालिम लिएका चिकित्सकहरुको आचारसंहिता हुने, लागु गर्नुपर्ने, तर बिना अनुमति औषधि पसल खोलेर बिरामी जाँच्दै जथाभाबी औषधि बिक्रि गर्ने, बिभिन्न बैकल्पिक उपचारका नाममा जनताको पैसा र स्वास्थ्य संग खेलवाड गर्दै हिड्ने यिनीहरुलाइ कारबाही नहुने, अचम्मको देश छ हाम्रो।

समाज र  पत्रकारको पनि उत्तरदायित्व छ यसमा। चेतनशिल र पढेलेखेका मानिसहरुले सत्य यकिन नगरी यस्ता ठगीलाइ वढावा दिने कुनै सामग्री शेयर गर्ने वा प्रोत्साहित गर्नु हुँदैन, यसले कम चेतना हुने मानिसहरुलाइ ठगी तिर धकेलिरहेको हुन्छ।

अस्पतालको कुरा काटेर नथाक्ने मिडिया जगत यस्तो बिसंगतिको बारेमा खुलेर बोलेको सुनिँदैन। वास्तवमा आम मानिसको जीवनसँग सरोकार राख्ने यी मुद्दा त मिडियाको पहिलो धर्म हुनुपर्ने हो। अर्को जरुरी कुरा चाहिँ एफएम र टिभी लगायतले पैसा आउँछ भन्दैमा संस्थाको बैधता नै पुष्टि नगरी यस्तो गैर कानुनी मानिस वा संस्थाको बिज्ञापन गर्नु हुँदैन, यो त ठगीलाइ प्रवर्दन गरेको हो।

यसलाइ नियन्त्रण गर्न सरकारको भुमिका अझ ठुलो हुन्छ। स्वास्थ्यसँग सरोकार राख्ने कुनै पनि संस्था कानुनी रुपमा दर्ता भएका छन कि छैनन, यिनले दिएका सेवाको गुणस्तर कस्तो छ यसको अनुगमन र नियमन सरकारी सरोकारकै बिषय हो।

जनता पनि सचेत हुन जरुरी छ। अस्पतालको सेवा झन्झटिलो होला, समय लाग्ला, पद्दति मन नपर्ला, वा आफुले खोजेको भन्दा फरक राय डाक्टरबाट आउला तर अस्पतालको उपचार बैज्ञानिक हो। अस्पतालहरुको उपचार पद्दतिमा समानता हुन्छ। तर झारफुकेहरुको कुरो त मिठो हुन्छ, एकै डोजमा च्वाट्टै, ग्यारन्टी जस्ता बिनाधार दिएका गफले बिरामी र आफन्तको पैसा त नास हुन्छ नै, अकालमा ज्यान जान्छ।

बैकल्पिक उपचारमा जानु परे पनि उपचार दिने मान्छे योग्य हो हैन हेरौं, र उपचार गरौँ।



 

 


Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...