Skip to main content

त्रिशुलीपारीका सात दिन


Dr Sandesh Dahal 

IOM, TUTeaching Hospital

जीवनको प्रारुपहरुको दृष्टि र मूल्याङ्कन गर्न अनुभव नै गर्नपर्छ भनेर हामीले सनेका थियौँ, त्यसैले अरुभन्दा पृथक यौटा यात्रा कल्पेका थियौँ। हामीले –म सन्देश, दिनेश, विदुर र रघु, धादिङको त्यो प्रकाशको अनुभव गर्न जसमा अन्धकारको त्यो सुगन्ध आओस जुन हामीले केबल सुनेका मात्र छौँ, भागेको छैनौँ।
यात्रा शुरु भयो यहिँ होस्टेलबाट। म, विदुर र दिनेशले सामान प्याक गर्यौँ र फोन गर्न लाग्यौँ। धेरै समय लागेन किनभने हामीसँग उत्सुकताबाहेक लागु नै के थियो र? उत्साहका दुईचार ज्वार, प्राथमिक उपचारका केही सामाग्री र विद्यालय स्वास्थ्य कार्यक्रमका निम्ति केही प्रचार सामाग्रीहरु थिए हामी चारसँग। यो भ्रमणसँग हाम्रा आ–आफ्ना महत्वकाँक्षा थिए। स्वभावतः दिनेश धेरै गम्भीर थियो, किनभने यो उसका जिल्ला थियो, यसको यसको विकटतालाई चुनौतीको रुपमा स्वीकारगर्दै यसको पीडामा जडीबुटी घस्नु थियो उसलाई। हामीलाई पहाड घुम्नु थियो, अनुभव लिनु थियो र प्राथमिक उपचार सिकाएर आफूलाई अलि कन्फिडेन्ट बनाउनु थियो।
आ–आफ्नो समान लिएर हामी निस्कियौँं, रघसँग बालाजुमै भेटगर्नु थियो। होस्टेलमा अर्कै यात्राका साथीहरु भेटिए, लाङटाङमा भएको हेल्थ क्याम्पसमा जान लागेका साथीहरु। उनीहरुको आँखामा चमक थियो तर हाम्रो आँखामा कम थिएन, किनभने हामी केबल चार भएपनि यो हाम्रो कदम नौलो र ऐतिहासिक थियो। हामी माटो बास्तविक ढंगमा चिन्न आतुर थियौँ। 
बालाजुमा रघुलाइृ भेटेर ७ः३० बजेतिर त्रिशुली हानियौँ। साँधुरो कालोपत्रे बाटोमा जनही एकसय तिरेर हामी त्रिशुली पुग्यौँ सवा ३ घण्टा लगाएर। त्यसपछि खाना खाएर यो वरपर घम्यौँ, शनिवार भएकाले हाइड्रोपावर हेर्न पाइएन र विदुरको दरबार परैबाट हेरेर हामी भर्याङ्भुरुङको बसको छलमा बस्यौँँ। बसको माथि जथाभावी दौडिएमा बिजुलीका नाँगा तारहरुबाट शिर जोगाएर हामी उकालो लाग्यौँ। यो क्षेत्रमा समबन्धित निकायले ध्यान नपुर्यााए, आज नभए भोली गम्भीर दुर्घटना आवश्यम्भावी छ। यो यात्रामा बिजुलीका तारपछि अर्को चुनौति थियो, सडकको स्थिति। न्यूनतमा पूर्वाधार नभएको घोडेटो आकारको बाटोमा यात्रा गर्नुपर्ने। बसले अगाडिभन्दा दायाँबाया यात्रा ज्यादा गर्थ्यो। डरले उफ्रिएर सबैको मुटु घाँटीमा आएको थियो। सडकमा मच्चिदैँ भगवानको नाम जप्दै चार सवामा भर्यागङभुरुङ आइपुगियो। आज सम्झिँदा त्यो यात्रा जीवनको सबभन्दा खतरनाक यात्रा मान्छु म। ओर्लिने बित्तिकै दिनेशले भन्यो, “खहरेबाट धादिङबेसीको यात्रा योभन्दा खतरनाक छ” मलाई अर्को डरले सतायो। मनमनै त्यो बाटो हिडेर पार गर्ने विचार गरियो। साँझको ४ बजिसकेको थियो तर हामी आजको विश्रामस्थलबाट अभै करिब साढे तीन घण्टा टाढा थियौँ। दहीचिउरा र केरा पेटभरी खाएर पोका पुन्तुरा कसेर हामी तेसै उकालो हानियौँ, पश्चिमतिर। बीचबीचमा रमाइला सल्लाघारी थिए, साँझको रातो घाममा सुस्ताउन लागेका।

सेमजोङ चौतारी त पुग्यौँ तर अब समस्या पर्योा। स्लिपिङ ब्याग लगेको थिएन, सुत्न लज पाइएन। संयोगले दिनेशको बुवाका साथी ढकाल सर भेटिए र मिलाएर एक सामुदायिक स्थलमा सुतियो। दिनेश धन्य भयो, विदुर बीचमा घुसि्रयो, रातको लामखुट्टेको टोकाई र सिरक माथि छुचुन्द्रो दौडेको र कुखुराको गन्धको अनिन्द्रामा रघु र म पिल्सियौँ। रघुका पाकेका गोलभेडा जस्ता आँखा देखेर उको माया लाग्यो, भोलिविहान। विहान सात बजेतिर चिया खाएर सरलाई धन्यवाद दिँदै हामी लाग्योँ मार्पाक तिर। सवा दशमा हामी निरञ्जना मा.वि. पुग्यौँ। स्कूल सल्लाघारीको बीचमा र ठूलो चौर भएको थियो। भोलिपल्टको वार्षिक उत्सवको तयारी भैरहेको थियो। हामीले दुई टोली बनाएर विद्यालय स्वास्थ्य कार्यक्रम गर्यौ। करिब ९० मिनेटको। त्यसपछि प्राथमिक उपचार तालिम दियौँ। त्यहाँ शिक्षकहरको ध्यान हामीले दिएको तालिमभन्दा ज्यादा हामीले ल्याएका केही ट्याब्लेट र आयोडिनको डिब्बामा पायौँ हामीले। यो हाम्रो देशको विडम्बना नै हो, यसको स्वास्थ्यको सेवाको उपलब्धताको सजिव प्रमाण हो यो। 
हाम्रो योजना त्यो दिन मार्पाक बस्ने भएपनि काम तीनबजे तिरै सकियो, त्यसैले त्यहाँ नबस्ने योजना गरेर हामी हानियौँ, फूलखर्कको सपना लिएर। तर रिङ्ने तिरको लामो बाटो लागिएछ। फेरी फर्केर आउन अल्छी लागेर रिङ्ने कै ओरालो झरियो। अलि तल झरेपछि डाँडामा यौटा स्कूल टुप्लुक्कै देखियो। मलाई धादिङको सबभन्दा मनपर्दो अनुभव यो रह्यो कि अत्यन्त विकट ठाउँमा आँखा उठाउँदा यौटा स्कूल देखिने। मनमा खुशी अनायसै लाग्थ्यो, ओठमा मुस्कान छाउँथ्यो। त्यो स्कूल भर्खर विदा भएको थियो। रघुले यौटा फोटो खिच्न भनेर क्यामेरा के निकालेको थियो, त्यहाँ त बालक बिद्यार्थीको जुलुसै खडा थियो। झन् रमाइलो भयो। आफ्नो स्कूल आँखामा आयो। कलिला अनुहारसँग फोटो सेसन गराएर हामी हतारिदैँ ओरालो लाग्यौँ।
पन्त गाउँको बाटो ओरालो लागेपछि हामीसँग केबल चार केटाकेटी भए। साँझको पौने पाँच भैसकेको थियो। मैले यौटा भाइलाई सोधेँ, “बिहान जुरुक्क उठेर आँखा मिच्दैँ स्कूल जान्छौँ हो” उसले सजिलै उत्तर दियो। सुनेर रघु र मैले मुखामुख गर्यौँ। मैले तुरुन्त शहर सम्झे। बालकको जीवन पद्धति हाम्रो सामु छर्लङ्गको थियो। यिनीहरुलाई स्कूल जानुनै पुरुषार्थ थियो, पढ्नु र पास गर्नु यी सबै सुबिधा थिए। उसले अन्जान आँखाले हेरेरै यो प्रश्नको उत्तर दियो। कति सामान्य छ यिनीहरुको जीवन। खोलेपछि त्यहीमात्रै बज्ने रेडियो नेपाल यिनीहरुको सम्पूर्णताको थियो सञ्चारको रुपमा। आयोडिनयुक्त नुनको विज्ञापन यी बालबालिका केबल रेडियोमा सुन्न मात्र सक्थे।
साँझमा उज्यालोको केही किरणहरुमात्र बाँकी थिए, हामी रिङ्नेमा पुग्दा। आँखुखोलोको किनारमा बसेर यसका अनुपम दृश्य हेर्दै चाउचाउ र चिउरा खाइयो। आकाशबाट जलवर्षा हुन थाल्यो, त्यसको एकैछिनमा असिना। अब हाम्रो यात्रा सर्यो भोलिको निम्ति। यो यात्रा सर्नुको अर्को कारण थियो, हामी सबैको यो खोलाको मोह। यो यति सुन्दर थियो कि हामीले दिनेशलाई धन्यवाद दियौँ मनमनमा। यदि यो खोला मेरो पनि हो भने त, विकास नभएर पनि म यो देशमा गर्व गर्न सक्छु कम्तिमा केही समयको लागि भएपनि। गर्मी र धुलोको दुई दिनको यात्राले छालामाथि सात पत्र मयल परिसकेको थियो। गर्मीको यो प्रचण्ड गर्मामी नुहाउन गरेको याचना यो साँझमा पूरा भएको थियो। साँझमा नुहाएर खोलाको किनारमा हामी गुन्गुनाइरह्यौँ, “छुदैन तिम्रो मायाले ....” त्यो रात आरामको हिसाबले श्रेष्ठ रह्यो, शकुनको रह्यो।
भोलिपल्ट पाँचबजे नै पोका बाँधेर निस्कियौँ मार्पाकतिर। आँखुखोला र झोलुङेपुललाई रिलमा कैर्दै गर्दै त्यहाँको सल्लाघारीमा उकालै उकालो लाग्यौँ। डाँडामा यौटी तामाङनी बालिकाले दिएको पानीले घाँटी भिजाउँदै उकालो लागिरह्यौा गीत गुन्गुनाउँदै “वीरताको चिनो वीरका सन्तानको।” खुला आकाश, डाँडाको नाभी नाभी हामी तेर्सियोँ। सानो काठको पुल तरेर हामी मार्पाकको इलाकामा प्रवेश गर्यौँ । विदुरको बोलाई थियो, “दिनेश हामीलाइ यति राम्रो ठाउँमा पुर्याउँछ भनेर त सोचेकै थिएन। ” वास्तवमै फूलखर्क निकेै राम्रो गाउँ हो। स्वर्गको यौटा टुकुराभन्दा पनि फरक नपर्ने। विदुरलाइृ मेरो पूरा सहमति थियो।
रघु र र म अघि अघि थियौ, गाउँमा परेछौँ। घरका मान्छेले सोधे , “कता हिड्नु भएका सरहरु? ” हामीले स्कूल जाने भनेपछि एकजना सज्जनले पिँढीमा राखे। रमाइलोका निम्ति हामी चट्टानमा बसेका थियौँ, उनकी श्रीमतीले सुकुल ल्याउँदै भनिन्, “हेर पाहुनालाई भुइँमा राखेको।” गाउँको आत्मीय संस्कार देखेर हमीलाई रमाइलो लाग्यो। हमी उनै सज्जनसित स्कूलतिर लाग्यौँ। यो गाउँमा गाउँलेकै श्रमबाट सडक निर्माण भैरहेको रहेछ, स्थानीयस्तरमा विद्युत उत्पादन हुँदै रहेछ। भर्खर पुर्नस्थापित भएको प्रहरी चौकीको हवल्दारसँग परिचय गर्दै स्कूल पुग्दा विदुर, दिनेश आइपुगिसकेका रहेछन्। त्यसपछि विद्यालय स्वास्थ्य कार्यक्रम गर्यौँ हामीले तर यहाँ अलि वृहत गरियो। नब्बे नब्बे मिनटको कार्यक्रम गरिसक्दा पेटमा मुसा दौडिरहेका थिए। खाना खायौँ। त्यसपछि कार्यक्रम थियो, प्राथमिक उपचारको। यसमा धेरै सरहरु नै सामेल हुनुहुन्थ्यो, थोरै मात्र विद्यार्थीहरु। वरपरका स्कूलबाट समेट सरमिसहरु आउनुभएको थियो। वास्तवमा हाम्रो फूलखर्कमा दुईदिन बस्ने योजना थियो तर मेरो व्यवहारिक कारणले यो यात्रा छोट्याउनु मेरो बाध्यता थियो। त्यसैले आजै गङ्गाजमुना जाने भनेर योजना बन्यो। साँझको चार भैसकेको थियो। हामी स्थानीय सर विष्णु ढकाललाई अगि ल्याएर ठाडो डेढ घण्टा र त्यसपछि आधा घण्टा तेर्सै बाटा हिँडेर हामी गङ्गाजमुन पुग्यौँ। युद्धकालिन समयमा सेनाद्वारा यी सबै ठाउँ प्रताडित थिए रे भन्ने सुन्नमा आयो। सेना आएको समयमा सबै युवा भाग्नुपथ्यौ नत्र ज्यान बचाउन मुस्किल थियो रे।
वारिदेखि पारीसम्म चट्टाने ठाडो भीरमा फोहरा खस्ने रैछ, आधा किलोमिटर लामो झरना। तर सुख्खा भएकोले धेरै पानी झरेको थिएन। छेवैमा गएपछि सिर्सिर अलिअलि पानी झारिरहेको थियो। यसको फेदमा ठूलो चौर थियो। भीरको एकचौथाई माथि भर्याङ चढेर गएपछि चट्टानको गर्भमा गंगाजमुनाको मन्दिर रैछ। यो ठाउँ नेपालको अत्यन्त उत्कृष्ठ पर्यटकीय क्षेत्र बन्न सक्छ भन्ने हमी सबैलाई लाग्यो, पदयात्राको उत्कृष्ठ गन्तब्य। त्यो भीरको माथि समतलछ, र जसबाट काठमाडौँ देखिन्छ रे। छेवैमा कुकुरधारा थियो। यो धारामा नुहाएर कुकुरले टोकेका जाती हुन्छ भन्ने किम्बदन्ती रैछ। दिनेश नुहायो, हमीले ओरल एन्टिरेविज भ्याक्सिन भन्दै यसको पानी खायौँ। त्यसपछि हतारहतार फर्कियौँ र साँझमा नवराज अधिकारी सरको घरमा आतिथ्य सत्कार ग्रहण गर्दै भोजन गरेर सुस्ताउन लाग्यौँ, भोली खहरे पुग्ने आशामा।
भोली विहानै हिड्ने भनेको पानीले दिएन। सात बजेतिर चिया खाएर हिलाम्मे बाटै बाटो तेर्सिर्यो हामी गंगााजमुनाको स्वच्छन्दतामा चंगा जस्तै मन लिएर। यात्रा सल्यानकोट हुादै खहरे झर्ने भन्ने थियो। बाटा नदेखेकाले यौटी स्कुले छात्रालाई पछ्यायौँ, सो सल्यानकोट वरतिरको स्कूलमा पढ्दिरहिछिन्। गाउँको मान्छेसँगको कहाँ हिड्न सकिनेरैछ र। ब्रुसेटसँगै पानी खाँदै दुखेर असहय भएका खुट्टा लिएर बल्लबल्ल सल्यानकोट मन्दिरमा आइपुगियौ। जनताभन्दा भगवान रिजाएर शासन गर्न खोज्ने राजा ज्ञानेन्द्र र पारस यो मन्दिरको समेत दर्शन गर्न आएका रहेछन्। याँ पारस झण्डै माओावदीको एम्बुमा परेका कुरा स्थानिय बासी युवकबाट थाहा पाइयो। यो डाँडो रमाइलो थियो, उत्तरमा गंगाजमुना देखि दक्षिणमा खहरेसम्म देखिने रहेछ। मन्दिरको छेउमा एउटा हेलिप्याड पनि रैछ। यहाँ आएपछि मोबाइलको टावर घरिघरि टिप्ने रैछ। हमी आजको खहरेको कार्यक्रम भोलीलाई सार्यौँ।  खाना खाने कार्यक्रम त्यहीँ बनायौँ। फोहोरपानी र गाई गोठको सुगन्धसँग खाएको त्यो खाना अविस्मरणीय रह्यो।
साँझमा दिनेशको घरमा पुग्यौ। हजुरआमाको आर्शिवाद, आमाबुबाको माया र सानी बहिनी रचनको मुस्कानले गरेका स्वागतले घरमै पुगेको आभाष दियो। आँखु खोलामा गइृ नुहाइधुवाइ सकेर यसो साँझमा गाउँ घुमिसकेपछि भरे चिलाउनेको फूलजत्रो नाइटा हुन्जेल घिउ, दुधभात खाइयो। एकछिन गफगाफ गरेर सुत्न गइयो। राति सवा दुई बजेतिर दिनेश र मलाई बान्ता हुन लाग्यो। सातआठ पटक वान्ता गरेर लखतरान परियो। फुडपोइजनिङ भएको रैछ। अघिल्लो दिन गोबरको सुवासमा खाएको खानाले रंग देखाइरहेको थियो। समुदायमा गएर त्यहीको जुत्ता लागाउनु पर्छ भनेर हाँसिदै दिनेश र मैले त्यही फोहोर आम्खोराको पानी प्रशस्त पिएका थियौँ। विदुर चार पटक पाखा बस्यो, रघु बलियो रैछ पचायो। 
भोलिपल्ट म खहरे स्कूलको कार्यक्रममा जान सकिन। विदुर मेरो साथै बस्यो, दिनेश शिरमा रुमाल बाँधेर सहभागी भयो। सबभन्दा राम्रो कार्यक्रम यहीँ भएछ। साधारण सरसफाइको महत्व मैले धादिङको अनुभवमा राम्रैसँग सिकेंँ।
त्यसको भोलिपल्ट दिनेशकोमै बस्यौँ, गाउँघर डुल्दै। अनि पर्सि बिहान धादिङ बेसी आउने टाटा गाडीमा चढ्यौँ। बाटो दिनेशले भनेका जस्तै रहेछ। सिमसिम पानी परिरहेको थियो। माटोको सडकमा सिमसिम पानी अनि के चाहियो। अलि पर बाटोमा बिग्रेको एउटा ट्रकले सडक छेकेको रहेछ। त्यपछि सुरु भयो ११ नम्बर । यत्रा नेपालीले कालो पत्रे नदेखि चोला पार गर्छन्, यसको सामु यो सानो हिडाई। झोला काँधमा भिरेर फेरी लाथ्यौँ उकालो, ओरालो। रमाइलो बाटो थियो। यो ठाउँको बाटो कमसल बन्नको एउटा रहस्य खुल्यो, यो बाटोको ठेक्का यो बाटो उपयोग गर्ने समुदायले नभएर पैसा खुवाएर अर्कै ठाउँको व्यापारीले पाएको रैछ। अनि नाफाको त्यो अतृप्तले यो बाटोलाइृ दुहुनु गाई बनाएको रैछ। विकास निर्माणमा समुदायको प्रत्यक्ष हात नरहँदा के हवुगत हुने रहेछ, थाहा पाइयो।  हिँड्दै ज्यामिरे भन्ज्याङआइपुगियो, जसमा हाम्रा कलेजका २६औँ ब्याचका विद्यार्थीहरु समुदाय निरुपण गर्न आएका रैछन् केही समय अगाडि। यहाँबाट धादिङ बेसी छर्लङ देखिन्थ्यो। शहरको खचाखचको पुर्व सन्ध्यामा उभिएर ङिच्च हाँसीरहेको। त्यहँको विर्सन नसकिने दही खाएर धादिङ बेसी आइपुगियो करिब १ बजे तिर। त्यसपछि बस चढेर आइयो काठमाडौँ। गाउँ छोडेकोमा दुःख लागिरहेको थियो, शहर कताकता अब नराम्रो ठाउँ होला जस्तो लाग्न थालेको थियो। गाउँका छाप्रा आफन्त लाग्न थालेका थिए, गाउँका मान्छे वास्तविक मान्छे लाग्न थालेका थिए।
देश, त्यो पनि डाँडाकाँडाको। विकसित ठाउँ त नगन्यै रैछन्। लगातार छ दिनको यो यात्रामा हामीले धेरे डाँडा काँडा काट्यौ तर हामीले यहाँ स्वास्थ्य पाएनौँ, विकास पाएनौँ, सम्पन्नता पाएनौ, राज्य पाएनौँ। हामीले के पायौँ? यी डाँडालाई हामी देश किन भन्छौँ? देश भनाएर यी डाँडाहरुले के पाए? यी कम्जोर अनुहारले के पाए? यो प्रश्नको उत्तर पनि हामीले पाएनौँ। 
यो जीवन्त अुनभव हो, त्रिशुली पारीका सात दिनको, जुन राजदरबारको गद्दीले दिदैन, सिंहदरबारको महत्वकाँक्षाले बुझाउँदैन, शिक्षण अस्पतालको शैय्याले थाम्दैन, मन्त्रीको चिल्लो सवारीले थेग्दैन, अनि धादिङमा आश्वासनको पर्खाल थुपारेर आकाशको महल बनाउने त्यहाँका जनप्रतिनिधिका आश्वासनमा भेटिदैन।
अस्तु

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...