Skip to main content

त्यो अन्तिम शुभकामना



डा सन्देश दाहाल

दशैंको सप्तमीको दिन, बिहान बिहान हतार छ। नुहाइधुवाइ, चिया अनि अस्पतालको ड्युटी। अरुले फुलपातीको तयारी गर्दै होलान। आज सप्तमी मेरो ड्युटी, भोली र पर्सी ओमको नवमी र दशमी। जे होस दुइ दिन मोज हुनेभयो। त्यसैमा मनमा हर्षको उल्लास छ। नत्र टीकाको दिन टीका लगाउन पनि राम्रो पाइन्न, इमरजेन्सीको फोन बजेको बज्यै।

सोचको बीचमा नै टिनिन्न फोनमा कल आउँछ, यसो हेर्छु नचिनेको नम्बर छ। “नमस्ते, म डक्टर सन्देश। के थियो होला? नचिनेको नम्बर परेछ।“ मैले भनें। “डाक्टरसाब, म रबिजंग थापा। चिन्नुभयो? मेरो पुरानो नम्बर हरायो। बीर अस्पतालको हजुरको बिरामी क्या त।“ उताबाट आवाज आयो। जीवनमा उपचार गरेका कति बिरामी याद हुन्छ, कति हुँदैन। कोही बिरामी भने स्मृतिमा अमिट भएर बसेका हुन्छन। “ओहो रबिजंग जी पो” मैले आश्चर्य मान्दै भनें, “अनि अहिले कस्तो छ? फेरी जन्डिस त भएको छैन नि? काम कस्तो चल्दैछ?”

“एकदम ठीक छ डाक्साब, केही समस्या छैन। हजुरलाइ दशैँको शुभकामना टक्राउन फोन गरेको। तपाइँले जे जति गर्नुभयो, म त शुभकामना मात्र त दिन सक्छु। बाँचुन्जेल शुभकामना टक्राउन पाऊँ।“ उनको गला अवरुद्द भयो। “के हुन्छ र तपाइँलाइ, रोग फालिहालियो। मैले त जे गर्नुपर्ने थियो त्यही मात्र त गर्या हो।“ उनले भने,”सबै ठीक छ, फेरी जागीरमा फर्किएको छु, कमाइ राम्रै छ। सरलाइ धेरै धन्यबाद। अहिले त ज्यान अलि मोटाएको पनि छ।“ “हवस, तपाइँलाइ नि दशैँको धेरै शुभकामना, स्वस्थ रहनुस।“ मैले फोन राखेँ।

यो मेरो चाडबाडको नियमित नियति नै बनिसकेको थियो, बिगत ५ बर्षमा। जिवनमा कमाएको गौरव पनि यही नै हो। नियमित यसरी बिनास्वार्थ शुभकामना दिने अरु पनि केही मानिस कमाएको छु आजसम्म। दुइचार फोन बज्छन चाडबाडको दिन। यो फोनको प्रसंग पोहोरको दशैँको हो।

यसपाली दशैँमा उनको फोन आएन, अरु सबैको फोन आयो। सोचिरहेथेँ, “बिर्सिए होलान क्यारे अब त। मेरो नयाँ नम्बर भएर हो कि। तर पोहोर साथीबाट नम्बर पत्ता लगाएर पनि फोन गरेका थिए त।“ मन केहीबेर टोलायो। फेरी अस्पताल निस्किएँ आफ्नो नियमित काम गर्न।

वीरमा सर्जरीमा एमडी सुरु गरेर भर्खर अपरेसन गर्न सुरु गरिएको थियो। जीवन अति नै ब्यस्त थियो, ओपिडी, वार्ड र अपरेसन। परिवार, निन्द्रा, खाना र चियापानी सबै सुबिधाजस्ता भएका थिए जीवनमा।  सायद शुक्रबारको दिन थियो, इमरजेन्सीमा ड्युटी थियो। बेड नम्बर ११ मा कुक्रुक्क परेर ज्वरोले काम्दै बसेको एउटा बिरामी, दुब्लो र पहेँलो। “के भएर आउनुभएको?” राम्ररी बोल्न समेत नसक्ने उनले भने,”३ महिना भयो, जन्डीस भएको थियो, अहिले ज्वरो पनि छ।“ यसो हेरेको, ब्लड प्रेसरनै रेकर्ड भएन, रिपोर्टमा जन्डिस २६ थियो।“ “आइसियुमा भर्ना गर्नुपर्छ त, सेप्सिस भएको छ, कलेजोबाट पाइप हालेर पित्त निकाल्नुपर्छ। कोसँग आउनुभएको छ?” छेउमा श्रीमति बसेकी थिइन, दुबै सुँकसुकाउन थाले। “खर्च धेरै लाग्ने होला, हामीसँग त केही पनि छैन।“ “छोराछोरी छैनन्?” “छोरा त छ तर छुट्टिएर बसेको छ। वहाँ सेक्युरिटी गार्ड हुनुहुन्थ्यो, चार महिना भयो काम गर्न नसकेको। छोरालाइ भनेको, मरे हुन्छ तर उपचारमा सहयोग गर्न सक्दिन भन्छ।“ श्रीमतिले रुँदै भनिन। मैले भन्ने कुरा नै केही रहेन, वीर अस्पताल भए पनि पुरै निशुल्क त केही छैन। नेपालको स्वास्थ्य संस्था कुनै पनि पुर्ण निशुल्क छैनन, औषधी त किन्नु परिहाल्छ। “पेटको भिडियो एक्स रे हेरेपछि कुरा गरौँला,” भनेर म बाहिर निस्किएँ अर्को अपरेसनमा।

अर्को बिरामीको अपरेसन गरिरहँदा मनमा रबिजंगको दुब्लो पातलो कमजोर अनुहार नाचिरह्यो। अपरेसन सकाएर पुनः इमरजेन्सी नै पुगेँ। श्रीमति बाहिर गएकी रहिछिन। मैले भिडियो एक्स रेको रिपोर्ट हेरेँ, पत्थरीले पित्तनलीको बाटो बन्द गरेको कारण यस्तो भएको रहेछ। मैले उनलाइ रोगको बारेमा भनेँ, र उपचारको बारेमा सोधेँ,”के गर्ने त अब?” उनले केही भन्न सकेनन्, केबल बरर्र आँशु झारे। उनले उपचारको याचना गर्न सकेनन् किनभने उनी असहाय थिए। तर उनको आँशु भनिरहेको थियो म बाँच्न चाहन्छु डाक्टर साब।“ गरिबीमा मानिसले ज्यानको याचना गर्न समेत नसक्ने रहेछ।

उनकी श्रीमति आइन्, मैले कुरा गरेँ फेरी। उपचार लाग्ने रोग हो, अपरेसन गर्ने स्थितिमा बिरामी पुर्याउन सकियो भने फेरी मानिस गरिखाने अवस्थामा पुग्नसक्छ तर रोग छिप्पिएकाले अलि धेरै नै खर्च र मिहिनेत लाग्नसक्छ।“ उनले केहीबेर सोचेर भनिन,”डाक्साब, उपचार नगर्ने जे होला होला घर लिएर जाने।“ “किन उपचार नगरी जाने नि निको हुने रोगमा? क्यान्सर भएको त होइन नि त।” उनले रुँदै भनिन,”वहाँ बिरामी भएको तीन महिना भयो, घरमा पकाउने भाँडाकुँडा पनि बेचेर खाइसकियो। रिन लिने पनि ठाउँ छैन।“ उपचार लाग्ने रोग छ, बिरामी मर्न कसरी छाडीदिने? मैले भनेँ,”ठिकै छ, आज राती यहीँ उपचार गरौँला, मसँग भएको औषधी दिन्छु, भोलि के गर्न सकिन्छ बिचार गरौँला।“ उनले हुन्छ भनिन। आफुले आर्थिक सहयोग गर्नसक्ने हैँसियत थिएन। वीरले त २४ घन्टा खट्ने हामीजस्ता रेजिडेन्ट डाक्टरलाइ जीवन निर्बाह भत्ता भनेर महिनाको बीस हजार रुपियाँ दिन्थ्यो। साँच्चै भन्नु भने त्यो पैसा त मेरी छोरीको डाइपर किन्दै सकिन्थ्यो।

अर्को दिन आइसियुको जोहो गरियो, पित्तनलीमा पाइप हालियो, फ्रि बेड मिलाइयो, फार्मेसीलाइ अनुनय गरेर फ्रिमा औषधी मिलाइयो। तर पनि बिरामी र परिवारसँग खाना खाने समेत पैसा भएन। फेसबुकको आफ्ने पेजमा बिज्ञापन राखेर केही सहयोगी हातहरुबाट पैसा जुटाएर उनीहरुलाइ दिइयो। करीब महिनादिनको अथक प्रयासपछि अपरेसन गर्न बिरामी फिट भए। सामान जुटाइयो, कसो कसो अपरेसन गरियो। अपरेसन राम्रो भयो। बिरामी राम्रो भए। पन्ध्र दिनमा डिष्चार्ज गरियो, उनी हिँड्दै घर गए। हर्षको आँशु नै झर्यो उनलाइ डिस्चार्ज गरेको दिन। हाम्रो युनिटको किशोर सर, घनश्याम दाइ, साथी ओम र सहकर्मी भाइ जैनेन्द्रको समेत उल्लेख्य सहयोग र मिहिनेत रहेको थियो। ६ हप्तामा उनी काममा जान थाले रे, त्यसपछी सँधै चाडबाडमा शुभकामना दिन फोन गर्ने गरेका थिए।

रबिजंगको फोन नआएर मनमा नरमाइलो भइरहको थियो। बिगत पाँच बर्षमा उनको फोन नआएको यो नै पहिलो थियो। फोन गरौँ कि जस्तो लागेको थियो, तर गर्न सकिरहेको थिइन। अकस्मात एउटा घटना याद आयो करिब ६ महिना अगाडीको। मैले वीर छोडेर न्युरो अस्पतालमा सेवा सुरु गरिसकेको थिएँ। राती २ बजे तिर फोनकल आएको थियो। उताबाट महिलाको आवाज थियो। “डाक्साब, हजुर वीरमै हो आजकल?” “होइन त, म त न्युरोमा आजकल।“ मैले उत्तर दिएँ। “किन के भयो र?” मैले सोधेँ। “म मेनुका बोलेको, रबिजंगकी श्रीमति। वहाँलाइ फेरी जीउ चिलाउने भएको छ, जन्डिस र ज्वरो पनि छ।“ मैले भनेँ, “पहिले अपरेसन गरेको पित्तनली साँघुरिएको वा पहिलाजस्तै फेरी पत्थरी भएको हुनसक्छ। वीर अस्पतालमा नै देखाउनुस न। म नभएर के भयो त, अस्पताल त त्यहीँ छ नि।“ हस् भनेर उनले फोन राखिन्। त्यसपछी केही सम्पर्क भएन। मध्यरातमा भएको कुराकानी मैले पनि भुलेछु सायद।

झल्याँस्स भयो, ओहो के भयो त त्यसपछी? फोन गर्ने हिम्मत भएन म मा। रबिजंगकी श्रीमतीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन, मैले पेन्डिंग नै राख्या थिएँ। उनको फेसबुकमा गएर डराइ डराइ पेज हेरेँ। मनै अमिलो भयो। केही समय अगाडी दुबै सँगै दोलखा भिमसेन गएको फोटो थियो, त्यसभन्दा माथी “गाइजात्राको अवसरमा रबिजंगको नाममा बच्चाहरुलाइ खाना खुवाएको” भनेर स्टाटस र उनको फोटो हालिएको थियो।

उनी इमरजेन्सीमा हुँदा रुँदै आँसुले गरेको जीवनको याचना र उनले सन्चै हुँदा दिएका चाडबाडका शुभकामना मनमा नाचिरहेका थिए। बिरामी बित्दा डाक्टर पेसागत हिसाबमा दुखी होला, किनभने जीवन मरण हाम्रो नियमित भोगाइ नै हो। तर सायद रबिजंग मेरा बिरामी मात्र रहेनन् होला, आफन्त बितेको जलन र पीडा भएरहेछ। उनले नियतिसंग हारे, आर्थिक सामाजिक जटीलतासँग हारे वा रोगसँग हारे मलाइ थाहा छैन र अब थाहा पाउने आँटपनि छैन। तर अब उनको यादमा बस त्यही अन्तिम शुभकामनाका शब्दहरु मेरो कानमा गुंजिरहेछन। अस्पतालमा मानिस रोगसँग नभएर नियतिसंग हार्नुपर्ने बाध्यता नभए कति आनन्द हुँदो हो हामीलाइ पनि? हार्दिक श्रद्दासुमन रविजंग।

 

(पात्रहरुको नाम परिवर्तन गरिएको)

 


Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...