Skip to main content

जेनेरिक औषधिको बहस

डा. सन्देश दाहाल

 अहिले बजार तातिरहेको एउटा बहस छ, औषधि जेनेरिक नाममा लेख्ने कि ब्रान्ड नाममा। यो लेख लेख्नु अगाडी एउटा कथाबाट सुरु गर्न चाहन्छु। एउटा गाउँमा एउटा फटाहा मान्छे बस्थ्यो। साँझ परेपछि “स्याल आयो” भनेर ठुलो हल्ला गर्थ्यो। गाउँमा स्याल लागेको भनेर गाउँमा पुरै हल्ला भयो। अनि सबै सुतेको बेला उ छिमेकीको घरमा गएर कुखुरा चोर्थ्यो, र कुखुरा मरेर छिलिसकेपछी अलिकति कुखुराको प्वाँख र रगत कुखुराको खोर छेउमा छोडीदिन्थ्यो। छिमेकीलाई लाग्थ्यो, कुखुरा चोरले लग्यो होला। गाउँको सबैको कुखुरा भटाभट चोरी भएपछी मान्छे जाग्राम बसे, र एकदिन त्यो चोरलाई समाए। यसरी स्यालको नाममा कुखुरा चोर्ने मान्छेको पर्दाफास भयो र गाउँमा कुखुरा हराउन बन्द भयो। अहिले बजारमा हल्ला छ, डाक्टरले कमिसन लिएर औषधि महँगो भएको हो। आफै डाक्टर भएकोले मलाई राम्रो थाहा छ, हल्लाका यी दुइ कथाहरुमा गहिरो समानता छ।

कानुनको बर्खिलाप गर्ने गराउने, व्यापार-व्यवसाय वा नाफाको बारेमा केहि नराम्रो भन्ने मेरो उद्देश्य छैन होइन र रहनेछैन भन्ने प्रस्टीकरण सुरुमै गर्न चाहन्छु।

यो बहसमा जानु भन्दा अगाडी बुझ्नुपर्ने केहि मुलभूत कुराहरु छन्। जेनेरिक र ब्रान्ड नाम भनेको के हो, के फरक छ। यसले मुल्यमा असर पर्छ कि पार्दैन?


के हो त ब्रान्ड नाम ?

औषधि पत्ता लगाउने वा यसको अनुसन्धानमा खर्च गरेर कुनै कम्पनीले सर्बाधिकार (पेटेन्ट राइट) लिएर कुनै आफ्नो नाममा बजारमा पठाएको औषधि ब्रान्ड हो। पेटेन्ट राइटको अवधिभर यो औषधि अन्य कम्पनीले यहि वा अर्को नाममा उत्पादन गर्न पाउदैनन। उदाहरणका लागिAugmentin (amoxicillin and Clavulinic acid combination)


के हो त जेनेरिक नाम?

पेटेन्ट राइटको अवधि सकिएपछी अन्य कम्पनीले यहि औषधि अन्य कुनै नाममा बजारमा ल्याएमा त्यसलाई जेनेरिक भनिन्छ। जेनेरिक बिभिन्न किसिमका हुन्छन। जेनेरिकका किसिमहरु,

१.  ब्रान्डेड जेनेरिकपेटेन्ट राइट सकिएपछी अर्को कम्पनीले आफ्नै नाम दिएर त्यहि औषधि निकाल्यो भने ब्रान्डेड जेनेरिक औषधि हो। जस्तै माथिकै औषधि Enhancin वा Super CV भनेर पनि बजारमा आउँछ। यसलाई बजार प्रतिनिधिले डाक्टर वा स्वास्थ्यकर्मीमाझमा चिनाउने गर्छन।

२. नोमिनल जेनेरिक- यो ब्रान्डेड जेनेरिक जस्तै नाममा हुन्छ, तर यसलाई बजार प्रतिनिधिले बिज्ञापन गर्दैनन्, यो सिधै होलसेलर वा बिक्रेताकोमा पुगेर बिक्रि हुन्छ।

३. फार्माकोलोजिकल जेनेरिक- यो वास्तविक जेनेरिक औषधि हो। यसमा औषधि पुस्तकमा भएको जस्तो नाममा हुन्छ, र यसमा उत्पादन कम्पनीको नाम गौण हुन्छ।


नेपालमा कुन औषधि पाइन्छ त ?

नेपालमा थोरै औषधि ब्रान्डेड पाइन्छ, किनभने नेपाल अन्तररास्ट्रिय कम्पनीको नजरमा धेरै सानो बजार हो, र ब्रान्ड किनेर खाने धेरै कम नेपालीको मात्र सामर्थ्य हुन्छ। नेपालमा पाइने अधिकांस औषधि ब्रान्डेड जेनेरिक हुन्।


नेपालमा जेनेरिक औषधि पाइन्छ त ?

यसको उत्तर हुन्छ, नेपालमा जेनेरिक औषधि पाइदैन। अमेरिकामा जेनेरिक औषधि उत्पादन गर्न त्यहाँको औषधि विभागमा स्वीकृति लिनुपर्छ। यसरि उत्पादन भएको औषधिको गुणस्तर र साइड इफ्फेक्ट ब्रान्डेड औषधिसंग तुलना गरिन्छ। गुणस्तर ब्रान्डेड औषधि बराबर र सुरक्षित छ भन्ने भएपछी उक्त औषधि बजारमा वितरण गर्न स्वीकृति दिइन्छ।


जेनेरिक र ब्रान्ड औषधि कुन राम्रो?

अवस्य नै ब्रान्ड राम्रो हो, किनभने अनुसन्धान भएको औषधि नै त्यहि हो। तर जेनेरिक औषधिको पनि गुणस्तर मापन राम्रो भएमा यसले पनि उस्तै काम गर्न सक्छ।


नेपालमा भैरहेको बहस के हो त?

नेपालमा अहिले बहसमा ल्याउन थालिएको बहस जेनेरिक वा ब्रान्डको भन्ने भ्रामक शिर्षक दिइएको एक चतुर ब्यबसायिक बहस हो। किनभने नेपालमा न त ब्रान्ड नाममा औषधि पाइन्छ, न त जेनेरिक नाममा। जेनेरिक नाममा औषधि लेख भन्ने औषधि विभागले जेनेरिक औषधि निकाल्ने स्वीकृति दिएको मलाई आजका मितिसम्म थाहा छैन। जेनेरिक औषधि नै नबन्ने देशमा यो बहसको वा कानुनको अर्थ के हो भने बजारमा पाइने औषधिहरु मध्ये बिरामीलाई कुन दिने भनेर छान्ने जिम्मा डाक्टरको हातबाट औषधि पसलेको हातमा पुर्याउने हो। यहाँ मैले फर्मसिस्ट भन्ने शब्द प्रयोग नगरेर औषधि पसले नै भनें, किनभने हामी सबैलाई थाहा छ नेपालका झन्डै सबै औषधि पसल फार्मसिस्टको लाइसेन्स प्रयोग गरेर दर्ता त गरिएको छ, तर अत्यन्तै न्यून संख्यामा मात्र फर्मासिस्ट बस्छन, अधिकांसमा सामान्य पसले ब्यापारी नै बस्छन, जसको काम मात्र बेच्नु हो। बिरामीले कुनै हालतमा जेनेरिक औषधि भेट्दैनन किनभने नेपालमा जेनेरिक औषधि नै पाउदैन। यो नियमपछी बिरामीले खाने औषधि कसले रोज्छ त भन्दा औषधि पसलेले, किनभने बिरामीले छान्न जान्दैन, डाक्टरले छान्न पाउंदैन।  


यो नियम लगाउन नमिल्ने हो त?

ब्रान्ड वा ब्रान्डेड जेनेरिक भन्दा जेनेरिक औषधि सस्तो पार्न जान्छ, तेसैले यस्तो नियम ठिक छ र लागु गर्नुपर्छ। तर यसका लागि दुइ पूर्वाधार चाहिन्छ, जेनेरिक औषधि उपलब्ध हुनुपर्यो, र बजारमा जे नाममा भएपनि औषधिको गुणस्तर समान हुनुपर्यो।  

 

 

समस्या कहाँ छ त?

  •     नेपालमा जेनेरिक औषधि नै नहुनु
  •  गुणस्तरको प्रश्न- जसले जति गफ दिएपनि नेपालमा उपलब्ध औषधिको गुणस्तरमा आकास जमिनको फरक छ। केहि उदाहरण नै दिनसक्छु, एउटा कम्पनीको levofloxacin भन्ने सुइबाट दिने औषधिले प्राय धेरैलाई एलर्जी गराउँछ, जब कम्पनि परिवर्तन गर्यो अर्कोले गराउदैन। सर्जिकेयर भन्ने एउटा राम्रो पन्जा छ, अपरेसनमा लगाउने। त्यसको डुब्लिकेट बजारमा छ्याप्छ्याप्ती भएको छ, यो कुरा औषधि विभागलाई थाहा नभएको हो कि आँखा चिम्लिएको, थाहा छैन। दिमागको संक्रमणमा चलाउने vancomycin भन्ने औषधि एकै कम्पनीको दुइ प्याकेजमा आउँछ, एउटा होलोग्राम सहित र अर्को होलोग्राम रहित। उसकै बजार प्रतिनिधिले औषधि चोर बाटोबाट आउँछ भनेपछि गुणस्तरमा बिश्वास नभएर मैले त्यो औषधि नै चलाउन बन्द गरें। यस्ता सयौं कुराहरु छन्, औषधि लेख्दै गर्दा थाहा हुन्छन। यसमा कुनै शंका छैन कि नेपालको तस्करीको हब नै हो, सुन देखि डलर तस्करी हुने देशमा औषधि जस्तो नाफा हुने कुरामा तस्करी छैन भन्ने कुरा अकल्पनीय नै हो। आजभन्दा करिब ३ बर्ष अगाडी नेपालको औषधि विभागले १६ औषधि गुणस्तरहिन भएकोले बजारबाट हटाउन निर्देशन दिएको समाचार आयो। बजारबाट हटाउन त के, चलिरहेको ब्याच बजारमा बिक्रि भैरहे। १५ दिनमा के चमत्कार भयो, त्यो बजारमा भएको औषधि मै अकस्मात गुणस्तर आयो होला। फेरी फुकुवा बन्द भयो। नेपालमा कति चमत्कार होलान यस्ता थाहा छैन।
  •  जिम्मेवारीको प्रश्न- डाक्टर केवल बिरामी प्रति र मात्र बिरामी प्रति उत्तरदायी हुन्छन। बिरामी ठिक भए जस, पैसा, मान सम्मान , र उपचारमा गडबडी भए बेइज्जत, पत्रिकामा बदनाम, बिरामी संख्यामा कमि। तर औषधि पसले स्वाभाविक हिसाबमा पैसा लगानी गरेर नाफा कमाउने उद्देश्यका साथ ब्यापारी भएकोले नाफाप्रती उत्तरदायी। औषधिले कम नगरेमा बिरामी मलिन वा आक्रामक अनुहार लिएर डाक्टरको कोठामा पुग्छ, तर औषधि पसलेकोमा गएर बिरामीले निको भएन भनेको सुनिंदैन। अर्को कुरा औषधिले गर्ने रियाक्सनले ज्यान जानेसम्म हुन्छ। डाक्टरले छानेको औषधिको रियाक्सनको जिम्मेवारी र उपचार डाक्टरले गर्छ, औषधि पसलेले सिफारिस गरेको रियाक्सनको जिम्मा कसले लिने हो? अपरेसनमा प्रयोग गर्ने पन्जा कम गुणस्तरको भएर घाउको संक्रमण भएमा त्यसको जिम्मा कसले लिने।  
  • मुल्यको प्रश्न- औषधिको केमिकल नाममा डाक्टरले औषधि लेखे के ग्यारेन्टी छ कि औषधि पसलेले कम मुल्यको औषधि बेच्छ? औषधि पसलेको उद्देस्य नै नाफा भएको कारणले उसले त्यहि औषधि बेच्छ, जसमा उसलाई नाफा ज्यादा छ। (व्यापार गर्नु वा नाफा खानु कुनै पनि बहानामा यो लेखकले नराम्रो भनेको होइन, वा भन्ने आशय छैन। जिम्मेवारी र उत्तरदायित्वको किसिममा फरक भएकोले यो प्रसंग उल्लेख भएको हो)। नाफा कुन औषधिमा ज्यादा हुन्छ भन्दा कम गुणस्तरको महँगो औषधिमा। म संग प्रमाण नै छ, पिसाबको पाइप Foley’s catheter  एउटा प्रख्यात कम्पनीको १४० को हाराहारीमा पर्छ, यसलाई १६० मा बेच्छन डाक्टरको सिफारिसमा र यसलाई ३ हप्ता प्रयोग गर्न सकिन्छ र पिसाबको संक्रमण कम गर्छ। अब अर्को कम्पनीको सोहि पाइप २० रुपिया पर्छ खरिदमा, र औषधि पसलेले त्यसलाई १३० मा बेच्छ, पिसाबको संक्रमण गराउछ, र एक हप्तामा परिवर्तन गर्नुपर्छ। अब भन्नुस मैले कम्पनि उल्लेख नगरी पिसाबको पाइप लेखें भने बिरामीलाई सस्तो भयो कि सास्ती?
  •   बजारको प्रश्न- बजारमा यस्तो व्यवस्था गर्नाले महँगो गुणस्तरहीन सामानको बर्चस्व हुन्छ। बजारमा तेही चल्छ जसमा ज्यादा नाफा छ। तेस्ले गर्दा ब्रान्डेड गुणस्तरीय औषधि पलायन हुन्छन। राम्रो गुणस्तरको एन्टिबायोटिक पाइन्न बजारमा। यो सबैको लागि दुर्भाग्य हुनेछ।

डाक्टरले कमिसन लिदैनन त ?

यसलाई हैन भन्यो भने यत्रो लेखको केहि अर्थ छैन, सब झुठको खेति हुन्छ। केहि मुट्ठीभर डाक्टर छन् जसले औषधि कम्पनिसंग धेरै कमिसन लिए भन्ने सुनिन्छ। तर अधिकांस डाक्टरले दुइटा कलम, दुइटा कपि वा केहि समारोह वा गोष्ठीमा खाजा खाएका होलान। तर बजारमा जसरि हल्ला चलाइएको छ, त्यो स्यालको कथा हो, जसलाई सुनाएर कसैले कुखुरो ताकिरहेको छ। मानौं ३० प्रतिशत डाक्टर कमिसन खाएर औषधि लेख्ने छन् भने सय मा सय प्रतिशत औषधि ब्यापारीले नाफा र कमिशन लिन्छन। कमिसन लिए नलिए जे भए पनि बिरामीलाई सन्चो नभए वा उसले दिएको औषधिले रियाक्सन गरे डाक्टर उत्तरदायी हुन्छ नै। त्यो कुरा औषधि पसलेसंग कहिले आशा गर्न सकिन्न, र यसको केहि आधार पनि छैन।


सारमा

नेपालमा जेनेरिक औषधि पाइदैन। तेसैले विद्यमान अवस्थामा अहिलेको बहस सतही रुपमा जेनेरिक र ब्रान्डको देखिए पनि वास्तिबकतामा बजारमा पाइने औषधि छान्ने जिम्मा कसरी डाक्टरको हातबाट छिनेर ब्यापारीको हातमा पठाउने भन्ने नै हो। नेपाल हल्लाकै मुलुक हो। डाक्टरले कमिसन खाएर औषधि सिफारिस भएको स्यालको हल्लाको सहारामा यस्ता कानुन बन्ने जमर्को हुँदै गर्दा सोसियल मिडियामा थप्पडी त आउदै गर्ला। कसैले कुखुराको सेकुवामा मस्ती गरिरहला। कानुन बनेपछि मान्नु सबैको कर्तब्य हो। डाक्टरले नियममा भनेकै नाममा नै औषधि सिफारिस गरौंला, तर औषधिले उचित काम नगरेमा वा कुनै अवान्छित साइड इफेक्ट देखाएमा हामीले दस औंला जोडेर बिरामीसंग निबेदन गर्नुपर्नेछ, “कृपया यसको जानकारी वा उपचार औषधि बिक्रेताबाट लिनुहोला।” जनताले ज्यादा दाममा काम नलाग्ने औषधिको चक्करमा पैसा र ज्यान गुमाउनु नपरोस।

 

धन्यबाद

 

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...