Skip to main content

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल 




कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ । 


कोरोनाको बारेमा

यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए। 

२०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसारको करिब १४ लाख मानिसलाइ संक्रमित बनाएको छ र करिब ७६ हजारले ज्यान गुमाइसकेका छन्। संयुक्त राज्य अमेरीका, इटाली, स्पेन् जर्मनी र फ्रान्समा नराम्रो प्रभाव पारेको छ। संसारको तथ्यांक हेर्दा यो रोगको अहिलेसम्मको संक्रमण दर (R0) २.४ देखिएको छ। यसको अर्थ भनेको एक संक्रमितले सरदर २ देखि ३ जनालाई रोग सार्ने गर्छ तर यो संख्या समुदायले कस्तो सुरक्षा रणनिति अपनाएको छ, त्यसमा भर पर्छ। औसतमा यो हिसाबमा संक्रमण दुइगुना हुने समय औसतमा ७ दिनको हुन्छ। रोग संक्रमण भएपछि लक्षण देखिने समय करिब १० देखि १४ दिनको छ। अर्थात एक संक्रमितले आफुमा लक्षण नै नदेखिइ १० देखि १४ दिनसम्म अरुलाइ रोग सारिरहेको हुन सक्छ। रोग लागेको मानिसमा संक्रमण भएको १० दिनमा सबभन्दा सिकिस्त हुने देखिएको छ हालसम्मको तथ्यांकमा। 


छिमेकी देशहरुमा स्थिती के छ? 

रोग सुरु भएको देश चीनको केन्द्र वुहानमा शहर खुलेको समाचार आएको छ भने चीनमा फेरी बाहिरबाट आएकाको कारण संक्रमण बढ्ने आशंकामा केही प्रान्तहरु लकडाउन गरिएको समाचार छ। 


भारतमा रोग फैलिरहेको तथ्यांकहरुले देखाउँछ। अहिले हेर्दा भारतमा ५ हजारको हाराहारीमा संक्रमित छन् र मर्नेहरुको संख्या १५० को हाराहारीमा छ। भारतको मुम्बइको 'धारावी' भन्ने बिश्वको सबैभन्दा ठुलो सुकुम्बासी बस्तीमा (भारतीय भाषामा झुपडपट्टि) कोरोनाले एक जनाको ज्यान गएको र केहीलाइ संक्रमण भएको जनाइएको छ। २ किलोमिटरको सानो क्षेत्रफलको यो भागमा एकदम गरिब ७ लाख मानिस बस्छन्, सम्भवत संसारकै सबभन्दा घना बस्ती हो यो। यो कुरा भारत, खुला सीमा भएको छिमेकी देश नेपाल र विश्वकै लागि ठुलो टाउको दुखाइ हो। 



कोरोनाको प्रकोप कम हुने वा समाप्त हुने बाटोहरु के के हुन त? 


कोरोनाको निश्चित औषधी छैन आजसम्म। त्यसैले कोरोना नियन्त्रणको बारेमा बिभिन्न बैज्ञानिकका बिभिन्न धारणा छन्, तर आजको मितिसम्म मोटामोटी सबै सहमत हुने भनेको कोरोना नियन्त्रणको तीनवटा बाटोहरु छन्। 


१. खोप
संसारमा खोपको बिभिन्न प्रयोगहरु जारी छन्। रोग गराउने जीवाणु पत्ता लागेको ६७ दिनमा नै मानिसमा खोप परिक्षण भएको सम्भवत यो नै पहिलो हुनसक्छ। संसारमै इमरजेन्सी भएको कारण कोरोना खोपको लागि जनावरमा टेस्ट नगरी सिधै मानवमा परिक्षण गर्ने सुबिधा यो रोगले पाएको छ। खोप परिक्षणको बिभिन्न चरणहरु हुन्छन। पहिलो- सिमित स्वयंसेवकमा परिक्षण, दोस्रो- बिभिन्न रोग, गुण भएका मानिसको अलि ठुलो समुहमा परिक्षण, तेस्रो- ठुलो समुदायमा परिक्षण र चौथो चरणमा व्यवसायिक स्तरमा उत्पादन, बिक्री बितरण र गुणस्तर मापन। 


आजसम्म भाइरसको प्रोटीनलाइ आधार मानेर बनाइएको खोप, आरएनए लाइ आधार मानेर बनाइएको खोप, adenovirus-vectored vaccine जस्ता बिभिन्न खोपहरुको प्रयोगहरु चलिरहेका छन। यसमा सम्मिलित बैज्ञानिकहरुको नै भनाइलाइ आधार मान्ने हो भने सवै कुरा सोचे अनुरुप भएमा पनि सबै परिक्षण सकेर खोप आम मानिसमा पुग्न कम्तिमा १८ महिना लाग्न सक्छ। खोप दादुराको जस्तो सफल पनि हुनसक्छ, र एचआइभी जस्तो चालिस बर्षसम्म असफल पनि। संसारको करिब ६०% मानिसमा खोप लगाएपछि यो रोग नियन्त्रणमा आउँछ। 



२. सामुदायिक प्रतिरक्षा (Herd Immunity)- 
रोग नियन्त्रणमा आउने सबैभन्दा बिकराल अवस्था यो हो। संसारको मानिस मध्ये ६०% लाइ संक्रमण भइसकेपछी सामुदायिक प्रतिरक्षा बिकास हुन्छ, जसले रोग फैलिन दिँदैन। तर यस्तो हुँदासम्म लाखौँ मानिसको ज्यान गइसकेको हुनेछ।


३. सामाजिक दुरि कायम गरेर संक्रमणको चेन तोड्ने
एक दुइ देशको कुरा भए योबाट मात्र नियन्त्रण सम्भव हुन्थ्यो होला। सन्सारको प्राय सबै देशमा फैलिसकेको यो रोग केहि समय नियन्त्रणमा आए पनि पुनः संक्रमणको जोखिममा नरहने भन्ने हुँदैन। प्रतिरक्षा नभएका मानिसहरु धेरै भएको देशमा एउटामात्र संक्रमित आए पनि त्यसले रोग सारेर फेरि परालमा लागेको आगो जस्तो सल्किने सम्भावना हुन्छ। हालै जापानमा भएको संक्रमण बृद्दी, र चीनको अरु प्रान्तमा भएको संक्रमणले यहि कुरा संकेत गर्छ। पहिला भएका सार्स र मर्सको संक्रमणमा सामाजिक दुरी कायम गर्ने, रोगी र संक्रमित शंकास्पद हुने बित्तिकै छुट्टै राख्ने, गरेर संक्रमणको जालो तोडेर नै संक्रमण नियन्त्रणमा आएको थियो। तर संसार नै संक्रमित गरेको यो रोगमा यो सम्भावना निकै कम देखिन्छ। हो सामाजिक दुरिले संक्रमणको गतिलाइ भने ढिलो गर्ने र बिपद् ब्यवस्थापनको हिसाबले सजिलो भने बनाउँछ।


तर्क र कारण त थाहा भएन तर केहि संसारका बैज्ञानिकहरु केहि महिनामा संक्रमण आफैँ कम हुने समेत आँकिरहेको मिडियामा यदाकदा सुन्नमा आएको छ। 


संसारमा कोरोनाको लागि  के के ट्रायल भइरहेका छन् त?


भाइरसको बिरुद्द प्रयोग हुने औषधी लोपिनाभिर-रिटोनाभिर र रेम्डेसिभिरको बारेमा अध्ययन भइरहेको छ, र प्रारम्भिक नतिजामा यि औषधीहरुले संक्रमितलाइ चाँडो निको हुन मद्दत गरेका छन् । माथी उल्लेख गरिएका खोपहरु ट्रायल फेजमा छन्। human recombinant soluble angiotensin-converting enzyme 2 भन्ने औषधी ट्रायलमा जान लागेको छ। डोनाल्ड ट्रम्पले दावी गरेको क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विनको प्रभाव फ्रान्समा गरेको केहि मानिसहरुमा प्रभावकारी देखिएको छैन, तर अझै पुरा रिपोर्ट आइसकेको छैन। 


संसारको तथ्यांक हेर्दा बिसिजी खोप दिने मुलुकमा यसको प्रकोप कम हुन्छ कि भनी आँकिएको लेखहरु आएका छन। तर यो रोगको प्रकोप बिसिजी लगाउने देशहरुमा पछिल्लो चरणमा संक्रमण भएको कारणले सबै कुरा थाहा नभइसकेको मात्र पनि हुनसक्छ वा अनिबार्य बिसिजी खोप दिने अधिकांस देशहरु गरिब भएको र त्यहाँ परिक्षण एकदम नै कम भएकोले पनि आँकडा कम देखिएको हुनसक्छ। यसको थप पुस्टी भारतको संक्रमण दरले गर्ने हुनसक्छ। 


जुकामा प्रयोग हुने आइभरमेक्टीन भन्ने औषधी पनि ट्रायलमा छ भन्ने कता कता सुनिन्छ। तर सिफारिसको तहमा केही आइसकेको थाहा भएको छैन। 


रुढीबादले पनि ठुलो क्षति भएको समाचार हरु छन्। अमेरिकी रास्ट्रपतिले भनेको सुनेर क्लोरोक्वीन र एजिथ्रोमाइसिन खाएर कहीँ बिरामी मरेको भन्ने समाचारहरु मिडियामा आएका छन। 


त्यसो त पादरीले डिटोल खुवाएर केन्यामा धेरै मानिसको ज्यान गएको पनि समाचारमा सुन्नमा आएको छ। 



सारांसमा भन्दा, 

लकडाउनका बीच नेपालमा पनि सुदुर पस्चिमको बझाङ्गमा हजारौँले मेला मनाएको खबर आएको छ, जुन भुभाग नेपालको उच्च जोखिमको भनेर मानिएको छ। यो हाम्रो लागि ठुलो चिन्ताको बिषय हो।

शिक्षा र चेतनामा कमजोर नेपालको छिमेकी भारतीय प्रान्तहरुमा रोग फैलिदैँ गएको बेलामा भारतीयहरु पाहुना भएर हुलका हुल बिना रोकटोक नेपाल छिर्नु, भारतमा जमातीहरुको सभामा नेपालीहरु सहभागी हुनु, सहभागी केहि नेपाली जमातीमा कोरोना पोजिटिभ देखिनु, र कोरोना पोजिटिभ ब्यक्ति क्वारन्टाइनबाट भागेको समाचार आउनु नेपालको सन्दर्भमा ठूलो चुनौति हुनसक्छन्, जसमा तुरुन्तै सबैको ध्यान जान जरुरी छ। काठमान्डुमै मानिसले तरकारी बजारमा अनियन्त्रित भीड गर्नु, नेपालमा अझै पनि जात्रा समारोह गरिनु र सबभन्दा ठुलो कुरा नेपालमा अस्पतालको संख्या र तीनको सुबिधा अत्यन्तै न्युन हुनुले पटक्कै राम्रो संकेत गर्दैन।

लकडाउन र सामाजिक दुरीले रोगीको संख्या कम गर्न मद्दत गरेर समस्या समाधान गर्ने देशको स्वास्थ्य प्रणालीलाइ सहज बनाउँछ, तर यो नियन्त्रणको रामबाण भने होइन। आज नियन्त्रण भएको महामारी भोलिको दिनमा कसैले बोकेर फेरी देशमा ल्यायो भने त्यसले फेरि महामारीको रुप ग्रहण गर्ने छ। त्यसैले आजको दिनसम्मको स्थितिमा उपाय भनेको देशभित्र संक्रमण दर कम गर्न सामाजिक दुरि राख्ने र बाहिर देशबाट रोग भित्रिन नदिने नै हो।  खोप मात्र रोकथामको अन्तिम आश हो। 

चीनमा संक्रमण भएर उसलाई हम्मे हम्मे परेको बेला स्पेनमा फुटबल आयोजना भएको र अमेरिकी रास्ट्रपतिले 'यो चिनियाँ भाइरस सामान्य रुघाखोकी हो', भन्नेजस्तो हल्का टिप्पणी र सुरुवाती चरणमा लापरबाही नगरेको भए सायद अमेरिका र स्पेनको त्यति चाडैँ यो हालत हुँदैन थियो होला। 

संसारका धेरै देशसँग विश्वलाइ सयौँ पटक खतम गर्ने हतियार छ। तर आज आएर आवस्यक पर्दा कुनै एउटा देशसँग आफ्नो नागरिक जोगाउने स्वास्थ्य सामग्री छैन। यो आजको संसारको नै ठुलो बिडम्बना भएको छ। नेपालमा पनि सैनिक खर्च, र अन्य प्रशासकीय खर्चको तुलनामा स्वास्थ्यमा विनियोजन हुने बजेट लाजलाग्दो गरी नै कम छ। सरकारी अस्पताल बिस्तार र निजी अस्पताल नियमन गर्ने कसैको चासोमा पर्दैन। देशमा कति कुन बिधाका चिकित्सक आवस्यक पर्छ, महामारीको ब्यवस्थापन कसरी गर्ने भन्ने तयारी मन्त्रालयले कहिले गरेको सुनिँदैन नेपालमा। 

पुरा संसारले मनन गरेको अवस्थामा, स्वास्थ्य क्षेत्रलाइ सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा दुइ मत कसैमा रहन आवस्यक छैन। नेपालका अस्पताल बिशेशतः सरकारी अस्पताल देशको नागारिकलाइ सामान्य अवस्थामा नै यथेस्ट सेवा दिन असमर्थ भएको बेला यो महामारीले देशकै ढाड भांच्न लागेको आभास हुँदैछ। सदुपयोग गर्ने भए अझै पनि थोरै समय बाँकी छ। देश अझै त दोस्रो अवस्थाको सुरुमा नै छ। भुकम्पमा जस्तो विश्व समुदाय सहयोग गर्नसक्ने स्थितिमा छैन। यो हाम्रो आफ्नै बलबुताको लडाइँ हुनेवाला छ। यस्तो बिषम अवस्थामा सरकार र जनता दुबै गम्भीर भएर आन्तरिक र बाह्य दुबै संक्रमण दर कम गर्ने, र निजी सरकारी हातेमालो गर्दै सम्भावित युद्दस्तरको तयारीमा जुट्नु बाहेक केहि बिकल्प छैन। चिकित्सा शिक्षामा एउटा उखान नै छ, “स्यालको शिकार गर्न जाँदा बाघ मार्नेसम्मको तयारी चाहिन्छ।“ तर यहाँ त हामी खाली हात डाइनोसरको अगाडी परेजस्तो भएका छौँ। 


धन्यबाद 


तथ्यांकका स्रोतहरुः 
















Center for disease control, USA 











Comments

Popular posts from this blog

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...