Skip to main content

झारफुके र नक्कली उपचारकर्मीले कसरी लाँदैछन् मानिसलाइ मृत्युको मुखमा


डा सन्देश दाहाल



सानैदेखि भगवान र भूतको कथामा रमाउने समाजको हिस्सा भएर होला, चमत्कारमा हाम्रो अलि ज्यादा विश्वास छ, वास्तविकता भन्दा। तेसैले आजक दिनमा पनि कयौं मानिसहरु छन् जो डाक्टरको सट्टा धतुरोको फुल मुखमा च्यापेर त्यसलाई पानीमा फुकेर दाँतको किरा झारेको भन्ने, पानीमा लुकाएर बेसार मिसाएर जन्डिस झारेको भन्ने बाबा बैद्य, आदिजस्ता ठगहरुको बिश्वास गर्ने गर्छन। हुन त आयुर्बेद वा झारफुकको नाममा मात्र ठगि हुदैन, औषधि पसलेका नाममा पनि ठगिन्छन मान्छे। छालाभित्र बोसो (lipoma) भएको बिरामीलाई ३ महिना एन्टीबायोटिक दिएको नि धेरै देख्या छ। तर पनि मान्छेहरु जान्छन त्यस्ता ठगहरुकोमा। त्यसमा विभिन्न कुराको दोस छ, कमजोर जनचेतना, ठग मनोवृति, सरकारी उदासीनता आदि त छदै छन्। बिरामीको यस्तो आचरणमा हामी अस्पताल वा चिकित्सामा प्रत्यक्ष परोक्ष सरोकार राख्ने सबै दोसी छौं। बिरामीसंग झर्किने क्रम टिकट काउन्टरबाट सुरु भएर, सम्पूर्ण उपचार पद्दति देखि डिस्चार्ज काउन्टरसम्म चलिरहन्छ। टेस्टको महंगी, रिपोर्ट ढिलो आदिजस्ता कारणले मानिसहरु अति नै नभई अस्पताल जान चाहदैनन्। खैर यी सबै सुधार हुदै जालान। 

 

अस्पतालमा एकैनासको घटना बारम्बार भयो भने किन भन्ने कौतुहलता मनमा जागिहाल्छ। यस्ता घटना विगतदेखि नै देखिदै आएका हुन्। गएको महिना यस्ता चारवटा घटना भए सर्जिकल वार्डमा जसले मेरो मनमा यो भान भयो कि कुनै ठुलै गडबडी त भैरहेको छैन। महिनाको पहिलो शनिबार हाम्रो युनिटमा एकैदिन दुइजना जन्डिसका बिरामी भर्ना भए, एकजना ६७ बर्षकी महिला र अर्की ९७ बर्षकी महिला। दुबैमा जन्डिस (bilirubin) को मात्रा २० भन्दा ज्यादा थियो (सामान्य अवस्थामा १ भन्दा कम हुन्छ)। दुवै बिरामीलाइ जांच गर्ने क्रममा सोध्दा थाहा भयो जन्डिस भएको क्रमस ३ र ५ महिना भैसकेछ। अनि किन अस्पताल नआउनु भएको भन्दा जडिबुटी आयुर्वेदिकको ग्यारेन्टीमा उपचार गरेको रे। अनि तीनमहिना पछी ठिक नभएपछी भिडियो आयुर्वेदिक मान्छेले एक्सरे गराएर उपचार गराउन अस्पताल पठाएको रे। 

 

दुवै बिरामीको स्वास्थ्य गम्भीर थियो, झन् ९७ बर्षकी आमाको त नुनको मात्र नमिलेर बेसुरा नै हुनुहुन्थ्यो। सबै जांच गर्यौ, सिटि स्क्यान गरियो। थाहा भयो ९७ बर्षकी आमाको पित्तथैलीको क्यान्सर थियो, र ६७ बर्षकी आमाको पित्तनलिको क्यान्सर थियो। ९७ बर्षकी आमाको पित्तथैलीको क्यान्सर जसमा जन्डिस देखिनु नै रोग फैलिएको लक्षण हो जसमा गर्न सकिने कुरा धेरै हुदैन। तर पित्तनलिको क्यान्सरमा जन्डिस भएर समयमै निदान गरेर अपरेसन गर्यो भने रोग ठिक हुन्छ, नत्र जीवन महिनामा गन्नु पर्ने हुन्छ। ६७ बर्षकी आमाको पनि अपरेसन गर्न नमिल्ने देखियो, देब्रे एड्रीनल ग्रन्थि लगायत अरु अंगमा रोग फैलिसकेको थियो। यहाँ पहिलो बिरामीलाई गर्न सकिने कुरा थोरै थिए होलान तर समयमा आएको भए दोस्रो बिरामीलाई बचाउन सकिन्थ्यो। किन सकिएन भन्दा उपचारमा आउन ढिलो भयो, रोग फैलियो। किन ढिलो भयो भन्दा रोगको बारेमा केहि जानकारी नभएका केहि रुपियामा अर्काको जीवन साट्नसक्ने मृत्युका सौदागरहरुले आफ्नु निजि कमाइको लागि कोइ व्यक्तिको जीवन घाटमा पुर्याउने काम गरे, गलत सल्लाह र उपचार गरेर। केहि गर्न नसकिने देखिएर कलेजोमा सानो नाली राखेर जन्डिस घटाउने र दुखाइ कम गर्ने उपाय गराएर हामी बिरामी डिस्चार्ज गर्न बाध्य भयौं। 

 

भर्खर हिजो फेरी एकजना महिला, जो २९ बर्षकी छिन, जसको पति र साना दुइ बच्चा छन्, उनि पनि भर्ना भएकिछिन। जन्डिस भएको ४ महिना भयो, आयुर्वेदिक जडिबुटी खाएको ठिक भएन भनेर। उनलाई पनि ग्यारेन्टी नै थियो रे। जांचहरु पठाएको छ। भिडियो एक्सरे को रिपोर्ट अनुसार पित्तनलीको क्यान्सर जस्तो लाग्छ। मेरो दुइ हात जोडेर भगवानसग प्रार्थना छ, हे भगवान यिनको फैलिसकेको अपरेसन गर्न नमिल्ने रोग भैसकेको नहोस। यो उमेरमा सम्भावित निको हुने रोगबाट मर्नु केवल बिडम्बना मात्र हैन, परिवार र बच्चाको लागि त अभिशाप नै हो नि। सिटि स्क्यानको रिपोर्ट आउन बाँकी छ, त्यसपछि थाहा हुन्छ के गर्ने भनेर।

 

एक महिना अगाडी एकजना ४२ बर्षकी सिन्धुलीकी एक महिला भर्ना हुनुभयो, पेटको ट्युमर भएकोले। उनलाई पांच महिना अगाडी दिसामा कालो रगत बगेको बेला धुलिखेल अस्पतालमा भिडियो एक्सरे गर्दा ट्युमर पत्ता लागेर भक्तपुर क्यान्सर अस्पतालमा रिफर भएको रहेछ। त्यहाँ सिटि स्क्यान गरेर ठुलो आन्द्राको ट्युमर भएर अपरेसन गर्ने मिति दिएर पठाएको। उनको पनि यस्तै ग्यारेन्टीवाला ठग संग भेट भयो र उपचार सुरु भयो। उनको तौल ५५ बाट ४० भयो, भिडियो एक्सरे बाट मात्र थाहा भएको ट्युमर ले पुरै पेट ढाक्यो। बल्ल सौदागर बा ले थाहा पाए, अब बिरामी मर्छ। अनि ठेलिदिए अस्पताल। ३५ हजारको औषधि खुवाएछन् । अवस्था नाजुक भएको बिरामीको अपरेसन बाहेक बिकल्प थिएन, अपरेसनकै बेला ज्यान जान सक्ने मन्जुरीमा अपरेसन गरियो, ट्युमर बढेर आन्द्रा सबै भेटिसकेको थियो, अपरेसनको दोस्रो दिन उनको मृत्यु भयो। 


यी प्रतिनिधि घटना एक महिनामा एक अस्पतालको एक युनिटका घटना हुन्, पुरै काठमाडौँमा एक सालको हिसाब गर्ने हो भने यो स्थिति भयाबह छ जस्तो लाग्छ। यस्ता झारफुकेले निको पार्ने जन्डिस भनेको हेपाटाइटिस ए र ई हुन्, जुन दुषित पानीले सर्छन र सामान्यतया उपचार नगरे पनि ३ हप्तामा ठिक हुन्छन। जन्डिसको कथित बैकल्पिक उपचारले कलेजो फेल भएर मरेका कयौं बिरामीका रिपोर्ट मिडियापत्रिकामा नआएका हैनन्। सुन्नमा आएको यस्ता ग्यारेन्टी उपचारमा झारपातको धुलोमा prednisolone भन्ने steroid औषधि मिसाएको हुन्छ, जुन अत्यन्त सावधानी संग प्रयोग नगरे संक्रमण बढ्ने मात्र हैन, कलेजो, मिर्गौला खराब गर्ने देखि पेटको अल्सर फुट्नेजस्ता घातक समस्या निम्त्याउछ। क्यान्सरमा steroid परेमा शरीरको ट्युमर प्रतिरोधी क्षमता घटेर रोग फैलिन्छ। मानव जीवनमा यति गम्भीर सरोकार राख्ने कुराहरु मृत्युको सौदागरहरुले दिनहु प्रयोग गरिरहेछन। माथिका प्रतिनिधि घटनामा बिरामीको उमेर हेरौं त, ७३ र ९३ भगवानको मर्जी मान्लान परिवारले मनसन्तोषको लागि, तर ४२ बर्ष र २९ बर्षका बिरामी कसैको गैर कानुनी रोजीरोटीको कारणले मृत्युको मुखमा पुग्नु वा मृत्युबरण गर्नु त जघन्य भएन र

 

बैकिल्पिक उपचार हुनुहुदैन भन्ने तर्क हैन र यस्तो तर्क गर्नु नि हुदैन। भारतमा आयुर्वेद चिकित्सा, चीनमा पारम्परिक चिनिया चिकित्सा लगायत धेरै ठाउमा यी प्रचलित छन् र बिस्वाशनीय पनि । तर उपचार गर्ने बैकल्पिक चिकित्सकले रोग के हो, यसका उपचार बिधि के के हुन्, बैकल्पिक उपचार पद्दतिका सफलता र सिमितताहरु के के हुन्, कुन कुन बेला अरुलाई बिरामी रिफर गर्ने भन्ने बुझेर उपचार पद्दति र बिरामीप्रति उत्तरदायी भएर उपचार गर्नुपर्छ। नसक्ने नहुने कुरामा ग्यारेन्टी दिएर बिरामीको विश्वासको गलत फाइदा उठाएर उनीहरुलाई विभिन्न स्वार्थमा मृत्युको मुखमा पुर्याउनु जघन्य अपराध हो। अस्पतालमा समय लाग्छ, पैसा खर्च हुन्छ, ब्यबसायिक बिरामी व्यवस्थापनको खाँचो छ नेपालमा। यो सबैको चपेटामा परेका अस्पतालको सेवा लिन गार्हो मान्ने सोझासाझा बिरामीहरुको बिश्वासको गलत फाइदा उठाउने गैर ब्यबसायिक ठगहरुको यस्तो कदमले पलपल कोहि न कोहि बिरामीको ज्यान लिरहेको छ। २०-२५ बर्ष पढेर ब्यबसायिक तालिम लिएका चिकित्सकहरुको आचारसंहिता हुने, लागु गर्नुपर्ने, तर बिना अनुमति औषधि पसल खोलेर बिरामी जाँच्दै जथाभाबी औषधि बिक्रि गर्ने, बिभिन्न बैकल्पिक उपचारका नाममा जनताको पैसा र स्वास्थ्य संग खेलवाड गर्दै हिड्ने यस्ता मृत्युका सौदागरहरुलाई कारबाही नहुने, अचम्मको देश छ हाम्रो। जनतामा पनि चेतना हुन जरुरि छ, अस्पतालको सेवा झन्झटिलो होला, समय लाग्ला, पद्दति मन नपर्ला, वा आफुले खोजेको भन्दा फरक राय डाक्टरबाट आउला तर अस्पतालको उपचार बैज्ञानिक हो, हुने, हुन नसक्ने वा नहुने कुरा थाहा हुन्छ। अस्पतालहरुको उपचार पद्दतिमा समानता हुन्छ। तर झारफुके मृत्युको सौदागरहरुको कुरो त मिठो हुन्छ, एकै डोजमा च्वाट्टै, ग्यारन्टी जस्ता बिनाधार दिएका गफले बिरामी र आफन्तको पैसा त नास हुन्छ नै, अकालमा ज्यान जान्छ। बैकल्पिक उपचारमा जानु परे पनि उपचार दिने मान्छे योग्य हो हैन हेरौं, र बेखुस नै सहि, डाक्टरको बैकल्पिक सुझाब (second opinion) लिऔं। अकालमा कसैलाई मर्न मार्न बाट जोगाऊं। सरकारले पनि यस्ता ज्यानमारा गैरकानुनी धन्दामा निगरानी बढाउन ढिला भैसकेको छ। 


(
शुद्ध आयुर्बेदका ज्ञाताको इमान्दार चिकित्साप्रती कुनै सन्देह वा आग्रह छैन)

 

https://img1.blogblog.com/img/video_object.png

Comments

Post a Comment

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...