Skip to main content

चिकित्सकलाई कस्न बनाइएको कानुन र यसले पर्ने असरहरु

डा. सन्देश दाहाल

अहिले बजारमा खुब चर्चामा छ मुलुकी ऐन प्रतिस्थापन बिधेयक! यसमा लेखिएको छ, “कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।“ सरसर्ती हेर्दा ठिकै छ! लापरबाही वा हेलचेक्र्याईं गर्नेलाई सजाय ठिकै छ! तर यसमा कुरा यति सतही छैन! लापरबाही वा हेलचेक्राई भनेको के हो? कुन अवस्थामा लापरबाही हुन्छ भनेर कसले ब्याख्या गर्ने? अनि लापरबाही, भवितव्य, र जटिलता भनेको एकै हुन् कि फरक, त्यो पनि सबैले बुझ्न जरुरि छ! 

चिकित्सकीय अभ्यासमा डाक्टरले बिरामीलाई अनावस्यक कुनै कुरा गरेर वा गर्नुपर्ने आवस्यक कुरा नगरेर बिरामीलाई भौतिक वा मानसिक क्षति भएको छ भने त्यसलाई लापरबाही भनिन्छ! लापरबाहीलाई उपचार पद्दतिमा ज्ञान भएको बिज्ञको समुहले प्रमाणित गरेमा लापरबाहीमा कारबाही गर्न मिल्छ र गर्ने पर्छ पनि! तर यो प्रावधानको समस्या ऐनमा कहाँ छ भन्दा यो ऐनले लापरबाही प्रमाणित गर्ने संयन्त्रको बारेमा कहीं कतै उल्लेख गरेको छैन! नेपालको विद्यमान संयन्त्रमा क्षतिपूर्ति समितिमा प्रमुख जिल्ला अधिकारी र सरकारी स्वास्थ्यकर्मी रहने व्यवस्था छ! प्रजिअ स्वास्थ्यका बिज्ञ कतै होइनन् भने सरकारी स्वास्थ्यकर्मी पनि बिरामीको अनुसन्धान गर्ने भन्दा अर्कै विधाको अथवा समुदाय चिकित्सा (public health) को हुन सक्छ, जसलाई उपचार पद्दतिको अलिकति पनि ज्ञान हुदैन! यसको सोझो अर्थ भनेको डाक्टरको उपचारको छानबिन गर्ने जिम्मा उपचारको क ख नै थाहा नभएको मान्छेको हातमा पर्नु हो! 

चिकित्सा अभ्यासमा भबितब्य भनेको के हो त? भवितव्य भनेको सामान्य अवस्थामा कल्पना गर्न नसकिने घटना हुन् जसला बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पार्छ! जस्तो औषधिको रियाक्सन! लाखमा एकजनालाइ हुन्छ, जसको बारेमा कसैले भबिस्यबाणी गर्न सक्दैन, तर यसले बिरामीको मृत्यु समेत हुनसक्छ! अर्को उदाहरण, मानौं कि टाईफाईडको ज्वरो आएर भर्ना भएको बिरामीलाई अस्पतालमा हृदयघात भयो! अब सरसर्ती हेर्दा बजारमा सामान्य ज्वरो आएको बिरामीको अस्पताल वा डाक्टरको लापरबाहीले मृत्यु भयो भन्ने हल्ला हुन्छ! घरमा रहेको आम नागरिकलाई पनि हृदयघात हुनसक्छ, र अर्कै रोगले अस्पताल भर्ना भएकोलाई पनि! यसलाई डाक्टरको लापरबाही भन्नु त्यत्तिकै जायज हुन्छ जस्तो कि घरमा हृदयघात भएमा परिवारको लापरबाही भनेजस्तो! कस्तासम्म घटना भएका छन् भने, बिरामीको कुरुवा अस्पतालको नजिकको रुखको झुण्डिएर मरेको पनि अस्पतालको लापरबाही भनेर भिडले पैसा असुलेको उदाहरण छन्! अब चिकित्सा पद्दति नबुझ्नेले भवितव्यलाइ लापरबाही भनेर कारबाही सिफारिस गर्यो भने के होला? 

अर्को बुझ्नुपर्ने कुरा हो जटिलता (complication)! रोगको जटिलता भनेको सम्पूर्ण सावधानी अपनाएर बिरामीको उपचार गर्दा पनि आउने स्वास्थ्य समस्याहरु! उदाहरणको लागि जस्तो अपरेसन गरेको बिरामीको घाउ पाक्ने! नेपालमा मात्र हैन, अमेरिकामा पनि सबै सावधानी अपनाएर अपरेसन गरे पनि करिब २ प्रतिसतको हाराहारीमा घाउ पाक्ने वा संक्रमण हुने हुन्छ! अब यहि घाउ पाक्ने प्रक्रिया चिनी र मुटु रोगि भएको बिरामीमा भयो भने संक्रमण जिउमा फैलिएर सेप्सिस भएर ज्यान जान सक्छ! अब यस्ता जटिलताहरु बिभिन्न उपाय लगाएर कम गर्न त सकिन्छ, तर सय हजार मध्ये एकमा हुन्छ नै! अब यसलाई पनि बिरामी पक्ष वा चिकित्साको ज्ञान नभएको जो कोहिले लापरबाही नै भन्छन! यो नियम आएमा यस्ता नगरेका गल्तीमा पनि डाक्टर फस्ने हुन्छ! 

यो बाहेकका अरु कुरा पनि छन्! बिरामी अलि अलि हिड्न बोल्न सकुन्जेल आयुर्वेदिक वा यस्तै औषधि खुवाएर राख्ने, र अन्तिम समयमा मर्ने बेला भएपछी अस्पतालको इमर्जेन्सीमा ल्याएर मृत्यु भएपछी डाक्टरको लापरबाही भनेर उफ्रिने महानुभावहरु धेरै भेटिन्छन नेपालमा! एक अस्पतालमा लास ल्याएर पनि इमर्जेन्सीमा डाक्टर आउन ढिलो भएको भनेर झगडा गरेर पैसा असुलेको पनि देखियो! बिरामीको जीवन बचाउन मृगौलाको अपरेसन गर्दा (छानबिन समितिले प्रमाणित गरेको) को प्रसङ्गमा मृगौलाको तस्करी गर्यो भनेर संसदमा उफ्रिएका पटमुर्ख सांसदहरुको भिडियो अझै पनि यहि आँखाले हेर्न सकिन्छ! 

अझै महत्वपुर्ण कुरा, सबै बिरामीको उपचार सम्भव छैन! नेपालमा मात्र हैन अमेरिकामा पनि अस्पताल नै सबभन्दा धेरै मान्छे मर्ने ठाउँ हो! राम्रो अस्पतालमा मानिसलाई अजम्बरी बनाउन मिल्ने भए अमेरिकामा मान्छे नमर्नुपरने! डाक्टर, बिरामी र आफन्त सबैले चाहेर पनि बिरामीको जीवन बचाउन सम्भव हुँदैन! त्यसैले ज्ञान नभएको विश्लेषक र भिडको नजरमा सबै मृत्यु लापरबाही हुन जान्छन! 

त्यसो भए लापरबाहीमा कारबाही नहुने? 

लापरबाहीमा कारबाही हुनै पर्छ! कानुन भन्दा माथि कोहि हुदैन! लापरबाही गरेर बिरामी अंगभंग भएमा वा ज्यान गएमा कारबाही हुनैपर्छ! तर लापरबाही प्रमाणित गर्ने संयन्त्र हुनुपर्छ! जेल किन ५ बर्ष? लापरबाहीको किसिम हेरेर २० बर्ष गरौँ न ! तर पहिला कानुनी संयन्त्र बनाऊ, छानबिन गर्ने बिज्ञ समिति बनाऊ, लापरबाहीको गुरुत्व अनुसार कारबाही सिफारिस गरेर कारबाही गरौँ! प्रजिअ वा स्वास्थ्य जानकार नभएको व्यक्तिले डाक्टरको लापरबाहीको निर्क्यौल गर्छ भने त्यो प्रणालीमा बसेर स्वास्थ्य सेवा दिन सम्भव छैन! 

र यसको अर्को पाटो! हरेक मृत्युलाई लापरबाही भनेर अस्पताल तोडफोड गर्ने, डाक्टरलाई हतोत्साही गर्ने, अस्पताल तोडफोड गर्ने र पैसा असुल्ने अराजक झुण्डलाई कारबाही हुनुपर्छ कि पर्दैन! यसमा त कानुन मौन छ जब कि छिमेकी भारतमा ड्युटी मा रहेका चिकित्सकलाई हातपात गरेमा बिना धरौटी जेलको व्यवस्था छ!

डाक्टर कस्ने कानुन ल्याएर उपचार गुणस्तरीय हुन्छ त? 

यो जस्तो हचुवा बिश्वास केहि हुन सक्दैन! चिकित्सकहरुले अहिलेको प्रणालीमा बिरामीलाई हुनसक्ने रोगमध्ये सबभन्दा ज्यादा सम्भावना भएको रोगको हिसाबमा उपचार सुरु गर्छन जसलाई provisional diagnosis भनिन्छ! टेस्ट रिपोर्ट आएपछि फाइनल डाइग्नोसिस हुन्छ! टेस्ट गर्न पैसा नभएका र सुबिधा नभएका ठाउमा डाक्टरको अनुभवले नै बिरामी ठिक हुन्छन! अब गलत उपचार वा निदानमा ३ वर्ष जेल भनेपछि डाक्टरले दिमागबाट हैन जांचबाट उपचार गर्न सुरु गर्नुपर्ने बाध्यता बन्छ! टाइफाइड जस्ता सामान्य रोग निदान गर्न हज्जारौं खर्च हुन्छ, उपचार असाध्यै महँगो! अझ बिकराल अवस्था त तब आउँछ, जब बिरामी मरेमा जेल जानुपर्ने डरले कुनै डाक्टरले ज्यान जानसक्ने गम्भीर बिरामी हेर्न मान्दैनन, बचाउन प्रयासै गर्दैनन् ! बिरामीले डाक्टर खोज्दा खोज्दै मर्ने स्थिति बन्छ! डाक्टरले इमर्जेन्सी बाहेकका अवस्थामा कुनै बिरामी हेर्दिन भन्ने उसको नैसर्गिक अधिकार हो! आज डाक्टरलाई कानुनले च्याप्यो भनेर सामाजिक संजालमा थपडी मार्नेहरु भोलि सिरियस बिरामी भएको अवस्थामा डाक्टरले हेर्न डराएर मर्नुपर्ने स्थिति आउने निश्चित छ! 

३०-३५ बर्ष पढेर अनि कठिन काउन्सिल परीक्षा पास गरेको डाक्टरको निष्ठामा सन्देह गर्नु बिल्कुल सहि छैन! डाक्टरको कन्चटमा बन्दुकको नाल राखेर मृत्यु टाल्न सकिन्छ भन्ने सपना पागलपन भन्दा बढी केहि हुनसक्तैन! 

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...