Skip to main content

अस्पताल घेर्ने आफन्तहरु

डा सन्देश दाहाल 

१. केटाहरुको कथा

थापाथलीको एउटा अस्पतालको गेटको छेउमा फोनमा एउटा झ्याम्ले केटा कुरा गरिरहेछ। “केहि छैन दाई, आजकल। सुख्खा सुख्खा चलिरहेछ। खै कसैलाई केहि भएकै छैन। अस्ति एउटा अलि सिरियस भएको थियो, तन्नेरी केटा थियो, तर पछि वीरमा रिफर भयो। त्यहाँ त ठिक भएछ। बाबु सोझा थिए, काकालाई उचाल्न सकिन्थ्यो। तर अब के कुरा गर्नु र?” उताबाट अर्को बोल्यो, ठिकै छ, “अरु नि शिकार हेर्दै गर मुला। छुट्ला नि फेरी।” ‘हवस् दाई’, उ बोलेर फोन राख्यो। यो फोनमा बोल्ने मान्छेको नाम सागर हो। खास घर सिन्धुपाल्चोक हो, भुइचालोमा घर भत्कियो। परिवारका सबै मारिए, ऊ मात्र घर बाहिर भएकोले बाँच्यो। त्यसपछि काठमान्डू काम खोज्दै आयो। सुरुमा वीर अस्पताल छेउको चिया पसलमा काम गर्थ्यो। त्यसपछि वीर अस्पतालकै आसपासमा देखिने राजसंग चिनजान भयो जो सधैं त्यहि चिया पसलमा चिया खान आउथ्यो। सधैं अस्पतालकै आसपास देखेर र अस्पतालकै कुरा गरेको सुनेर एकदिन राजलाई सागरले सोध्यो- ‘दाइलाई सधैं यहि देख्छु, कोहि बिरामी छ दाइको?” राजले भन्यो, अस्ति अर्कै अस्पतालबाट सिरियस भएको बिरामी यहाँ ल्याएको थियो, त्यहि हेर्न आएको।” “चिनजान हो दाइ ?” सागरले सोध्यो। राजले भन्यो, “कुरा लामो छ भाइ, फेरी कुरा गरौला नि, अहिले हतार छ।” उनीहरुको फेरी फेरी कुरा भयो। अनि सागरले चिया पसलको काम छोडेर आजकल राज सँगै छ, उसको ड्युटी आजकल चाबहिलको एउटा चलेको अस्पतालमा छ। अस्पतालमा कोहि कराएको रोएको सुन्नेबित्तिकै वा कोहि आइसियुमा भर्ना हुनासाथ ऊ सोधपुछ गर्न पुगिहाल्छ। यसरी नै यिनीहरु धेरै छन् आजकल, रमेश लगनखेल अस्पतालमा, हरि जावलाखेलमा, आदि आदि। कोहि सिरियस बिरामी कतै रिफर हुनेबित्तिकै हालखबर बुझेर यिनीहरु फोनमा आफ्नु काम ह्यान्ड ओभर गरिहाल्छन|

 

 २. डाक्टरको कथा

डा शेखर बीर अस्पतालको राम्रो डाक्टर हुन्। एमबिबिएस कोलम्बो प्लानमा भारतमा सकेर अमेरिका गएर स्वासप्रस्वास रोगमा उच्च अध्ययन सकेर अमेरिकामा दुइ तीन बर्ष बसे। कमाइ राम्रै थियो, बर्षको झन्डै एकलाख डलर भन्दा ज्यादा थियो।घर गाडी सबै किनिसकेर उतै सेटल भैसकेका थिए। अमेरिकामा पैसा र सुबिधा त छ, देशको छात्रवृत्तिमा पढेपछि त देशको सेवा नि गर्नुपर्यो नि भन्ने भावनाले उनलाई बेला बेला घच्घच्याई रहन्थ्यो। फेरी नेपालमा जति इज्जत र पहिचान नि त्यहाँ हुने भएन। नेपालमा आएर काम गर्दा त बिरामीको सेवा मात्र नभएर सम्पूर्ण चिकित्सा क्षेत्रकै कल्याण होला कि भन्ने उनको सोचाई थियो। तेसैले आराम चटक्क छोडे, अनि वीर अस्पताल आए। पहिले करारमा एकबर्ष काम गरे, अनि अर्को साल लोकसेवाको परिक्षा दिएर स्थायी नियुक्ति लिएर बीस हजारको जागिर खान थाले। बर्षको एक करोड जोगाउने डाक्टरलाई महिनाको २० हजार, हाँसो पनि उठ्थ्यो, तलब थाप्दा। तर यहि देशमा महिनाको दुइ हजार नकमाउने पनि कति होलान भन्ने सम्झेर चित्त बुझाउँथे। समय बित्दै गयो। उनि लगनसँग काम गर्दै गए, बिरामीको उपचार गर्ने, अनि विद्यार्थीलाइ चिकित्सा शिक्षा र मेडिकल इथिक्स पढाउने। उनि यति संबेदनशील थिए कि बिरामीले अलिकति दु:ख पायो, वा अनावस्यक एउटा मात्र परिक्षण भयो भने उनि मातहतका डाक्टरले ठुलै मूल्य चुकाउनु पर्थ्यो। त्यति बिरामीको माया गर्ने डाक्टर सायदै भेटिन्छ जीवनमा। वीरको तलबले परिवारको दुइछाक धान्न गार्है पर्ला। तर पनि चार पाँच साल बाहिर काम गरेनन। पछि थापाथलीको एक अस्पतालको मान्छे सँग चिनजान भयो, अनि उनि साँझ बिहान त्यहाँ गएर केहि बिरामी हेर्न थाले। त्यहाँ काम गरेको नि धेरै वर्ष भयो। सबै बिरामी सन्तुस्ट नै छन्। सबैको सेवा गरेकै छन्। उनको पनि जीवन गुजारा भएकै छ। वीरमा विद्यार्थी पढाउनेइथिक्स सिकाउने, र विद्यार्थी डाक्टरको पाठ्यक्रम बनाउने काम गरेको थुप्रै समय हुनलाग्यो। 

 ३. बिरामीको कथा

एकदिन राति २ बजे डाक्टर शेखरको मोबाइल बज्यो। डाक्टरलाइ मोबाइल बन्द गरेर आराम सुत्ने छुट कहिले नि हुदैन। आफु अन्तर्गत धेरै बिरामी हुन्छन, कुनै बेला फोन आउनसक्छ, उठेर अस्पताल जानुपर्ने हुनसक्छ। उनले फोन उठाए। त्यहि थापाथलीको अस्पतालबाट फोन आएको थियो, इमर्जेन्सी ड्युटी डाक्टरको। “नमस्कार सर”, उताबाट डाक्टर बोले। डा शेखर- “नमस्कार, के भयो?” ड्युटी डाक्टर- “सर त्यो अस्ति आइसियुमा हजुरको अन्डरमा भर्ना भएको एकजना ८५ बर्षको बुबा बिरामी हुनुहुन्थ्यो नि, मुटुको, फोक्सो, र मिर्गौला खराब भएर डायलाइसिस गरेको। स्वस्प्रास्वासमा फेरी कठिनाई भएर आउनुभएको छ।” डा शेखर- “के छ त अहिले स्थिति?” ड्युटी डाक्टर- “रगतको रिपोर्ट र एक्स रे मा फेरी फोक्सोको न्यूमोनिया छ, अक्सिजनको मात्रा ७० तिर मात्र छ, पिसाब नि कम छ, मिर्गौलामा नि समस्या छ। फेरी डायलाइसिस चाहिन्छ जस्तो छ। फेरी आइसीयु चाहिन्छ।” डा शेखरले फोनमा सबै औषधि भनिदिए, बिरामी भर्ना भयो, बिरामीलाई अलि सजिलो भयो। तैपनि सबै रोगहरुको कारणले अब्जरभेसन चाहिने भएकोले आइसियुमा भर्ना गरियो। उपचार सुरु भयो। यी बिरामी धेरै पटक भर्ना भएका हुन् यो अस्पतालमा। तेसैले डाक्टरको बिरामी, बिरामीको आफन्तसँग राम्रै चिनजान छ। बिहानै ५:३० तिर डाक्टर शेखर बिरामी हेर्न आए, बिरामीलाई ठिकै थियो। बिरामीको आफन्तसँग कुरा भयो। बिरामीको जेठो छोराको असनमा पसल छ। सधैं उनले नै बुबालाई लिएर आउछन, योसमेत गरेर १२ पटक भयो भर्ना भएको। बिरामीको चुरोट खाने बानीले फोक्सोमा समस्या थियो, क्रोनिक ब्रोंकाइटिस। त्यसले गर्दा दाहिने मुटु फेल भएर फोक्सोमा पानि जम्ने, जिउ सुन्निने, स्वास फेर्न गार्हो हुने, जस्तो समस्या भैरहन्थ्यो। अन्तिम समयमा मिर्गौलामा समस्या भएर डायलाइसिस समेत गरेपछि राम्रो भएर घर गएका थिए, करिब तिन साता अगाडि। कुरो पुरानो बिरामकै चर्चा बाट सुरु भयो। डाक्टर शेखरले भने- “पुरानो समस्या धेरै छ, सबै अंगमा। औषधिले काम गरेपनि उमेर बितेपछी जीउले उपचारमा साथ दिने नदिने यकिन हुदैन। प्रयास त हामी सधैं नै गर्ने हो, सबै कुरा हाम्रो हातमा हुदैन।” उनको छोराले सबै बुझेकै कुरा थियो, उनले भने- “डाक्टर साब, हामीलाई सबै थाहा छ, तर पनि गरौँ न। हुने नहुने त् छदैछ नि। उपचार नगरी राख्न नि लोकाचारको समस्या।”

 ४. पत्रकारको कथा

एउटा दैनिक पत्रिकाको कार्यालय। एउटा कोठामा अफिस छ। त्यसमा एउटा टेबल छ, त्योसँगै भएको कुर्सीमा एकजना मोटे मान्छे छ। त्यो टेबलको अगाडी एउटा ख्याउटे मान्छे उभिएको छ, निन्याउरो अनुहार लगाएर। त्यो मोटो मान्छे प्रधान सम्पादक हो पत्रिकाको। दुइ पेजका यस्ता दैनिक पत्रिका काठमाडौँमा कति निस्किन्छन, कति बन्द हुन्छन। कसैलाई थाहा छैन, सायद प्रेस काउन्सिल लाइ नि। ति सम्पादक महोदयले झपारेको स्वरमा त्यो पातलो मान्छेलाई सम्झाउदै छन्,‘यस्तो वाहियात नि समाचार हुन्छ? के लेखेको यस्तो? यस्तो समाचार लिएर आउ, जुन बिकोस। केहि ग्लामर होस्, उत्तेजना होस, केहि घटना होस्, केहि रहस्य होस्। यस्तै समाचारमा तलब त म दिन्नँ दिन्नँ, अर्को महिनाबाट कामबाटै हटाइदिन्छु।” निन्याउरो अनुहार भएको यो पातलो मान्छेको नाम प्रकाश हो। घर इलाम। एसएलसी पास गरेर काम गर्दै पढ्न काठमाडौँ छिरेका। उनले जसोतसो मानविकीमा आइए पास गरे, महेन्द्र रत्न ताचाहालबाट। घरबाट पैसा सहयोग गर्ने हैसियत छैन, बुबा बिरामीखेतीबाली नि धेरै छैन।जागिर पाइन्न काठमाडौँमा, खोजी हेरे धेरै दु:ख गरेर। कतै पाएनन्। खाना खान नै गारो पर्यो, उधारोले जीवन जिउन नै गारो पर्यो। उनको साथीले एउटा उपाय सुझायो, आइए पास गरेर काठमाडौँमा जागिर पाइन्न, कुनै तालिम चाहिन्छ। उसको सल्लाह अनुसार उनले तीन महिने पत्रकारिताको तालिम लिए। अनि त्यो सर्टिफिकेट लिएर उनि सबै पत्रिकाको कार्यालय चाहारे। प्रतिष्ठित पत्रिकाले काम दिने कुरै भएन, बल्ल बल्ल यो दैनिक पत्रिकामा स्वयंसेवी पत्रकारको जागिर पाए, नाफा भए तलब पाउने, नत्र नपाउने गरि। यहाँ पनि उनको दैनिकी गाली खाने मात्र भएको दुइ महिना काटिसकेको थियो। पत्रिकामा उनको समाचार र गोजीमा पारिश्रमिक दुवै परेका थिएनन्। गाली खाएर उनि कालो मुख लगाउदै कार्यालयबाट बाहिर निस्किए, समाचारको खोजीमा। 

 ५. अब मुख्य घटना

यता सागरलाई फोन आयो, “हिजो राति एउटा सिरियस बुढो भर्ना भएको छ रे थापाथली आइसियुमा, फलो गर।” “हस दाई,” यति बोलेर उ अस्पतालतिर लाग्यो। आफन्तसँग कुरा गरेर उसले सबै जानकारी लियो। अस्पतालमा आइसीयु बाहिर बसेको बिरामीको जेठो छोरो सँग उ कुरा गर्न थाल्यो, “महँगो छ है दाइ अस्पताल? औषधि पनि डाक्टरले लेखेको कम्पनीको नै चाहिने रे, सबै चलाउने हो कि डाक्टर नर्सले बेच्ने हो थाहा छैन।” बिरामीको छोरो बोल्यो,” धेरै पटक भयो भर्ना भएको, खोइ त्यस्तो त लाग्दैन मलाइ। डाक्टर साबले नि खुलेर सबै कुरा भनेर सम्झाएर मात्र गर्नुहुन्छ।” सागरले उक्साउने स्वरमा बोल्यो,"मलाई थाहा छ, मेरो आमा लाइ नि ४२ दिन आइसियुमा राखेको, ८ लाख सकियो अनि आमा नि रहनुभएन। जग्गा बेचेर पैसा दिएर लास छुटाएको।" सागर बल्छी फाँकिरहेको थियो, कसलाई के मतलब उसको कुरा साँचो कि झुठो। तर पनि बिरामीको जेठो छोरोले मतलब गरेन। 


उपचारको क्रममा बिरामीको अवस्था बिग्रिन थाल्यो। बिरामीलाई राख्नु पर्ने भयो। डा शेखरले सबै सम्झाए, मन्जुरी लिएर बिरामीलाई भेन्टिलेटरमा राखिदिए। घरका सबै सदस्य जम्मा भए। सागरले केस फलो गरिरहेको थियो। बिरामीको कान्छो छोरो अलि ठेट्ना थियो, बिबिएसको पढाई आधा मै छोडेर जिम जान थालेको थियो। आइसियुमा ४ दिन राखेपछि कसरि झन् बिग्रियो भनेर सोध्दै थियो। दाइले बाहिर बस्न पठाए, बाहिर बसेर यताउता टहल्दै थियो। सागरले कुरा गर्न सुरु गर्यो। अघिल्लो दिन दाइलाई फ्याँकेको सबै कुरा भाइलाई फ्याक्दै थियो। ४ दिनमा सबै गरेर दुइ लाख खर्च भएको कुरा उसलाई थाहा थियो। बिरामीको अवस्था बिग्रिँदै गयो, भेन्टिलेटरमै अक्सिजन घट्दै गयो। सागरले कान्छो छोरोलाई तयार गर्दै थियो, कान्छो छोरो तयार बन्दै गयो। आइसीयु बाहिर होहल्ला गर्ने, औषधि लिन जादा नर्ससँग झर्किने, झगडा गर्ने, र लापरबाही भयो भन्ने जस्ता कुरा कताकता उसको मुखबाट सुनिन थालेका थिए। 

 ६. अन्त्यमा

बिस्तारै बिरामी शिथिल हुदै गएर मृत्युवरण गरे। बिरामीको जेठ छोरा पसलमा थिए, डाक्टर शेखरले मृत्युको समाचार दिन उनको परिवार बोलाए। उनले भर्ना गर्दा बिरामीसँग कुरा भएका आफन्त कोही थिएनन, सबै नयाँ। आफन्त भएर बसेको कान्छो छोरोले डाक्टरको कुरा सुन्न बुझ्न मानेन। सागरले बिरामीका कान्छा छोरालाई सम्झाए, यो लापरबाही हो, नत्र नहुने बिरामीलाई किन पैसा खान आइसीयु राख्नु आदि भनेर। कान्छा छोराले उनका दाजुलाई बुबा बितिसकेको, अरु कुरा आफुले मिलाउने र दाइलाई अस्पताल नआउन भनेर फोनमा भनिदिए। सागरले बिरामीका कान्छा छोरालाई भने-“अब लापरबाही भनेर कराउने, हल्ला गर्ने। शुल्क मिनाहा त हुन्छ नै, अरु नि फाइदा हुन्छ मैले जे भन्छु त्यही गर्नु।” “पुलिस आउला, समाउला। फेरी आफन्त नि धेरै छैनन्। कसरि होहल्ला गर्ने नि?”बिरामीको कान्छो छोरोले सोध्यो। सागरले भन्यो- “आफन्तको चिन्ता तपाईं नगर्नु। सब काम म गर्छु, आफन्त मैँ ल्याउछु। तपाइँले मैले भनेको जस्तो मात्र गर्ने, जे हुन्छ आधा आधा गरौला।” उसले एकछिन सोच्यो र भन्यो-“के होला त?” सागरले भन्यो-“आजकल दसको रेट चलिराछ, पच्चीस बाट सुरु गर्ने, त्यति त हुन्छ हुन्छ। भर्खर चाबहिलमा त्यति नै भयो। तर तपाइँको पाँच मात्र नि, अरु मेरो ।” उसले एकछिन सोचेर भन्यो,”अँ, त्यस्तो बिरामी, त्यो पनि त्यति पाको उमेरको भएको जान्दा जान्दै त्यत्रो दिन्छन होला नि। लखेटे भने?” सागर बोल्यो-“ जसरि नि हुन्छ, पुलिसले केस बढाउन सक्दैन, भरपर्दो सुरक्षा नि दिन सक्दैन। छलफलमा जानु परिहाल्छ। हुलदंगा भैरख्यो भने अस्पताललाई घाटा हुन्छ, फेरी भुइँतल्लामा सिटि स्क्यान हरु छ। हुलदंगाले करौडौको सामान तोडफोड हुन्छ भनेर नि तुरुन्तै बार्ता सुरु हुन्छ। अनि कुरा मिलिहाल्छ नि।” कान्छो छोरा बोल्यो,” डाक्टरलाई राखेर छानबिन गर्ने भन्यो भने नि?” सागरले भन्यो,” डाक्टरले त अर्को डाक्टरको पक्ष लिइहाल्छ नि भनेर नमान्ने। माने पनि क्षतिपूर्ति बाहेक नमान्ने। यस्तोमा सफल भएको धेरै भयो हौ ब्रो, चिन्ता नमान न। धेरै नसोच, हाम्लाई थाहा छ क्या आइडिया।” कान्छो छोरो ढुक्क भयो कुरा सुनेर। सागरले फोन घुमायो,-“दाइ थापाथलीमा केस छ, तुरुन्त २/३ सय आफन्त पठाइदिनु त ।” तुरुन्तै अस्पतालमा नाराबाजी सुरु भयो। होहल्ला भयो, तनाब भयो। 

अस्पताल वरतिर बाटोमा ति प्रशिक्षार्थी पत्रकार प्रकाश गाडी कुरिरहेका थिए। अस्पताल तिर मान्छे कुदेको देखेर उनि दगुर्दै त्यता गए। अस्पतालमा पुलिस थियो, भित्र कसैलाई जान दिएको थिएन। जुलुसको नजिक गए र सोधे के भएको? कसैले उत्तर दियो, डाक्टरको लापरबाहीले बिरामी मरेको रे, तेसैले बिरोध भएको। उ त्यो बिरामीको कान्छो छोरो। उनि बिरामीको कान्छो छोरोको छेउमा गएर सोधे-“के लापरबाही भएको?” बिरामीको कान्छो छोराले प्रकाश पत्रकार भएको थाहा पाएर बेलिबिस्तार लगायो,- “हल्का खोकी लागेर हिँड्दै अस्पताल आएको मेरो तगडा बुबालाई आइसीयु राखेर, कसैलाई भेट्न नदिएर, कसैलाई नदेखाई जे पायो त्यहि औषधि चलाएर, घाँटीमा पाइप हालेर मारिदियो अनि ३ दिन मेसिनमा हालेको नाटक गरेर अनावस्यक औषधि लिन लगायो र पैसा नि लुट्यो। लापरबाही गर्ने यो अस्पताल र डाक्टरलाई कारबाही हुनुपर्यो।” अस्पताल बन्द भयो, कसैले केहि गर्न सकेन। बिरामीको आफन्तले लाश उठाउन मानेनन्। बरु भोलिपल्ट सुरुमा त्यहि प्रकाशको दैनिकको पहिलो पेजमा ठुलो अक्षरमा फ्लास समाचार आयो,“डाक्टर र अस्पतालको लापरबाहीले बिरामीको मृत्यु।” अर्को दिन अरु पत्रिकामा नि समाचार आयो सोहि शिर्षकमा । 

दुइदिन पछी सर्बपक्षिय बैठक बस्यो। प्रसासन, अस्पताल, बिरामीका आफन्त बसेर छलफल थाले। अस्पतालमा दुइ दिनको बन्दमा क्षतिपूर्ति भन्दा बढी घाटा भैसकेको थियो, उसलाई सल्ट्याउनु थियो। बिरामीका आफन्त त्यही कान्छो छोरो र सागर सागर बसे । प्रसासनलाई पनि जसरि पनि केस मिलाउनु थियो। कुरा क्षतिपूर्ति र डाक्टरलाई हुने कारबाहीमा चल्यो, लापरबाही थियो थिएन न कसैलाइ जान्न मन थियो न कसैले त्यो बारेमा छलफल नै गरे। सागरको योजनामा नै कुरा २५ लाखबाट सुरु भएर १० लाखमा मिल्यो। पैसाको मात्र कुरा भयो भनेर डाक्टरको पनि कुरा निकाले जसो गरिहेरे। अस्पतालले छानबिन गर्ने भनेर डा शेखर लाइ पत्र दिने भनेर सहमति भयो। सहमतिको साक्षी प्रसासन र उही पत्रकार प्रकाश भए। भोलि फेरी पत्रिकामा समाचार आयो, “उपचारमा लापरबाही भएको अस्पताल र डाक्टरबाट स्वीकार, १० लाख क्षतिपुर्ति तिरे। डाक्टर माथि छानबिन हुने।” 

डा शेखर फेरी त्यस अस्पताल गएनन्, देशको मायाको पनि राम्रै अनुभव भयो होला सायद। त्यसअघि र त्यसपछि कैयौं डा शेखर हरु छानबिनमा परिसके, कयौं मुद्दाहरु मिलिसके, सागरहरुले कैयौं तानाबाना बुनिसके। तर सत्यता जान्न, लापरबाही छानबिन गर्न अहिलेसम्म कहिँ कुनै छानबिन समिति बसेको छैन। समिति बने त केवल कुरा मिलाउन, अवरोध हटाउन। 

 धन्यबाद 

 

 

 

 

(काल्पनिक कथा हो, कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ)

 

Comments

Post a Comment

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...