Skip to main content

पत्रिकामा डाक्टरको समाचार: भ्रम कि यथार्थ?

डा सन्देश दाहाल

काठमाडौँमा बज्ने सबै एफ एम र प्रमुख टिभीमा बज्ने एक बिज्ञापन बजिरहन्छ, सायद सबैले सुनेको हुनुपर्ने हो। पाइल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ, फलानो क्लिनिक, फलानो डाक्टर। यी प्रचार सुन्दा मलाई सधैं नै आश्चर्य लाग्थ्यो, लाग्छ। पित्तनलीमा क्यान्सर भएको दुइ महिला यस्तै विज्ञापनको भर परेर अकालमा ज्यान गुमाउन बाध्य भए एक हप्तामा मैले नै हेरेको वार्डमा। यस बिषयमा मैले एउटा आर्टिकल पनि लेखेको छु। मलाई यकिन नै छ, यस्ता विज्ञापनको भ्रममा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यानसम्म गुमाउने असंख्य नै छन्।
 बैकल्पिक उपचार गर्छु भन्न पाइन्छ। डाक्टरको आचारसंहिताले उसलाई सहि उपचार गरेपनि बिज्ञापन गर्न रोकेको छ। यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरुको त आचारसंहिता छैन, त्यसमा कुनै दुइमत छैन। मिडिया हाउस वा पत्रकार जगत त राज्यको चौथो अंग भन्छन। बिज्ञापनको पैसा पाए, त्यसको लागि जे पनि बजाउन, प्रचार गर्न मिल्ने हो र? काठमाडौँमा यसरि प्रचार गरेका धेरै अबैध संस्था गैरकानुनी प्रमाणित भएका छन्। विज्ञापन गर्ने संस्थाको बैधता नै पुस्टि नभई यसरी बिज्ञापन हुँदा जनतामा के असर परिरहेको होला?  कानुनी हिसाबमा पैसा लिएर बिज्ञापन गर्न पाइन्छ होला, तर चौथो अंग दाबी गरेपछि समाजप्रति उत्तरदायी हुनुपर्ने होला कि।
 यस्तो विज्ञापनको झन् बिकराल रुप मैले झापा आएपछि देखें। यहाँको रेडियो र पत्रिकामा बिज्ञापन बज्छ, “भारतको पानीटंकीमा पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार गरिन्छ। माता पाथिभरा क्लिनिक। सम्पर्क फलानो घिमिरे, शान्तिनगर झापा।” माता पाथिभरा नाममा खोलिएको अबैध धन्दाले मृत्युको मुखमा पुर्याएको करिब २२ जनालाई आइसीयुमा राखेर मेरै टिमले उपचार गरेको छ। बिज्ञापन कति प्रभावकारी हुन्छ भने नेपालीले नेपालीलाई उपचार गर्न नेपालको सट्टा भारतमा क्लिनिक खोल्नु ठगीधन्दा हो भन्ने घाम जत्तिकै छर्लंग भए पनि विज्ञापनको भर परेर मान्छे ठगिन जान्छन दिनदिनै।

मलाई यो बिषयमा केहि लेख्न पहिले नै मन थियो। आज झन् अचम्मको समाचार आयो, त्यो पनि देशको एक नम्बर दावी गरेको रास्ट्रिय दैनिक कान्तिपुरमा । समाचारको शिर्षक छ, “मृत घोसणा गरिएका बालक जीवित भेटिएपछी अस्पताल तनाबग्रस्त/” (२०७५/०६/०६ कान्तिपुर अनलाइन) । घटना के हो त भन्ने कौतुहल भयो। यो सगरमाथा अंचल अस्पतालको घटना रहेछ। उक्त बालकलाई हेर्ने डाक्टरको फेसबुकमा स्टाटस आयो,”यो बच्चा सुरुमा मैले हेरेको हो, ल्याउँदा मृत नै थियो, र परिवारले खाटबाट लडेको भनेको थियो। समाचारमा सर्पले टोकेको र पुन जीवित भएको भनेको के कसरी हो थाहा भएन।”
अनि केहि घण्टामा कान्तिपुरमा समाचार सच्याइएको छ, र भनिएको छ,’अगाडिको समाचार बच्चाको आफन्तको भनाइमा आधारित भएकोले सच्याइएको छ।’ अहिलेको समाचार छ, “सर्पदंशले बालक मृत्यु भएपछी अस्पतालमा तनाव।” र यसमा लेखिएको छ, बालक मृत नै छ, तर जिउँदो भएको दाबी गर्दै आफन्तले शब् गृह तोडफोड गरेर हेर्दा पनि बालक मृत नै भेटिएको छ।” यो घटना वस्ताबिकतामा सर्पले टोकेर मृत भएको बालकको मृत्यु स्वीकार गर्न नसकेको परिवारजस्तो देखिन्छ, वा सर्पले टोकेको मान्छे “मरेजस्तो देखिए पनि जिवितै हुन्छ” भन्ने अन्धबिस्वासबाट प्रेरित देखिन्छ। तर कान्तिपुरको पहिलो समाचार वा त्यसको शिर्षक जसले पढे, उनीहरुको नजरमा समाचारको अर्थ “डाक्टरले मृत र जीवितबिचमा फरक छुट्याउन सकेनन” भन्ने हो। यसमा समाचार सूचना दिने सम्बाददाता देखि यसलाई सम्प्रेसन गर्ने बिभिन्न तहमा समाचारको वास्तविकता बुझ्ने मनस्थिति कसैको देखिंदैन। यसले "हेडलाइन" बनाएको मात्र छ तर सहि सुचना दिएको छैन। यसलाई पत्रकारिता भन्न मिल्दैन। यो लापरबाही हो, जसले डाक्टर, अस्पतालको बिश्वास घटाएको मात्र छ।

रबि लामिछाने पछिल्लो समयमा निकै चर्चामा छन्, उनको टेलिभिजन कार्यक्रमको लागि। उनको मिडिया स्टन्ट हेर्न लायकको हुन्छ, हाउभाउ, एक्सप्रेसन, बिषय सबैमा बेजोड प्रस्तुति। उनको कार्यक्रम हेर्दा लाग्छ, गणतान्त्रिक नेपालको मुक्तिदाता उनै हुन्। केहि समय अगाडी भाद्र पहिलो हप्तातिर एउटा सनसनीखेज समाचार आयो, पर्बतको जिल्ला अस्पतालमा नभाँचिएको हातमा प्लास्टर गरेर डाक्टरले चरम लापरबाही गरे भनेर। हज्जारौं नेपाली जनताले डाक्टरलाई गाली गरे, गालीको स्वरले फेसबुक रंगयाए। कुरा बुझ्दा समाचार गलत रहेछ।  सनसनी पनि भयो, खरो समाचार पनि, दबंग रबिजीको टिआरपी पनि बढ्यो होला। भएन के भन्दा जिम्मेवारीयुक्त सहि सूचना, जुन पत्रकारितामा आम मानिसले आश गर्ने हो। रबिजीलाइ म्यासेज गर्न खोंजे, फेसबुकमा वहांको सयौं आइडी छ, कुन सहि ठम्याउन सकिएन। वहांको सहकर्मीलाई सुझाब दिएँ, वास्तविक पत्रकारिता गरेको हो भने फेरी सबै डाक्टरसंग फोन बार्ता गरेर अर्को कार्यक्रम बनाउनु भनेर। मलाई थाहा नै थियो, आफ्नु कट्टु खुस्केको कसैले लोकलाई देखाउन खोज्दैन।

करिब भाद्र पहिलो हप्तामा नयाँ पत्रिकामा एउटा स्वास्थ्य सम्बन्धि लेख आयो, अनुहारमा हुने चाया मेलास्मा (melasma) को बारेमा। उक्त लेखको टाइटल छ, “कुरूप बनाउने मालेस्मा”। यो समान्य प्राबिधिक त्रुटी हो, तर यसले जनाउँछ, स्वास्थ्यको समाचार वा सम्प्रेषणमा नेपाली मिडिया कतिको सचेत हुने चेस्टा गर्छ।
अझ रमाइलो प्रसंग छ, मनमोहन अस्पतालको। एकजना बिरामीको मृगौलाको पत्थरीको अपरेसनको क्रममा रक्तश्राब ज्यादा भएर ज्यान बचाउनको निम्ति मृगौला नै निकाल्नुपर्ने स्थिति आयो। परिवारको सहमतिमा मन्जुरिनामा लिएर मृगौला निकालियो। बिरामी निको भयो, घर गयो। पछी के भयो कुन्नि, फेरी बिरामीको त्यो समुह मनमोहन अस्पताल आन्दोलन गर्न आइपुग्यो। त्यस बखतका सबै पत्रिकामा समाचार आए, “मनमोहन अस्पतालले मृगौलाको चोरी तस्करी गर्यो।”
केहि समाचारपत्रको समाचार साभार गर्दा, ई-रातो खबर- “मिर्गौला तस्करी गर्दै मनमोहन अस्पताल।” एभरेस्ट दैनिक,”मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानबिन समिति गठनको माग।”  मनमोहन प्रकरणमा सेतोपाटीको समाचार,”मनमोहन अस्पातालमा पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो, बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड।” यहि यस्तै समाचारमा सत्यता देखेर एकजना माननीयले सांसदमै प्वाक्क बोल्दिहाले, “मनमोहन अस्पतालले मानव अंग तस्करी गर्यो।” पछी छानबिन समिति बन्यो, सबै कुराको खोजबिन भयो। समाचार झुठो प्रमाणित भयो।  छानबिन समितिको निष्कर्ष समाचार बनाउने आँट न त पत्रिकाले गरे, न त यसको निष्कर्षको बारेमा समाचार पढेका सांसद र जनताले नै जान्न खोजे। त्यहि समयको भ्रामक समाचार पढेर आज पनि धेरै नेपाली नेपालमा मृगौला तस्करी हुन्छ भनेर बिश्वास गर्छन। यसमा पत्रकारिताले सहि धर्म निभाएको होला त? 

अस्पतालमा भएको जुनसुकै मृत्युलाइ डाक्टरको लापरबाही भनेर समाचार लेख्नु अहिलेको पत्रकारले नैसर्गिक अधिकार नै ठान्छ। समाचारमा किटानी नै गरिएको हुन्छ कि डाक्टरले लापरबाही गरेको हो। पढ्दा वा सुन्दा यस्तो लाग्छ कि पत्रिकाको समाचार हैन, अदालतको न्यायाधिसले लेखेको फैसलाको पूर्णपाठ हो। यस्ता पत्रिकाले किटानी गरेका लापरबाहीका कुनै केस प्रमाणित भएका छैनन् बरु पत्रिकालाइ अदालतले मानहानीको सजाय गरेको नजीर छ।

 उदाहरण दिन चाहन्छु, hamroeconomy.com १९ श्रावण २०७४, ओम अस्पतालको सन्दर्भमा, “ज्यानमारा अस्पतालले अस्पतालले लियो अर्की महिलाको ज्यान, स्वास्थ्यमन्त्रीको किन पुगेन ध्यान?” यसमा लापरबाही किटान मात्र गरिएको छैन, अस्पताललाई ज्यानमारा नै भनिएको छ। सौर्य दैनिक २०६९/०६/०७ रौतहटको एक अस्पतालको डाक्टरको नाम सहित, “डाक्टरको लापरबाहीले बिरामीको मृत्यु।” कान्तिपुरमा बिभिन्न समयमा प्रकासित समाचारहरु, धुलिखेल अस्पताल, किस्ट अस्पतालको सम्बन्धमा।
अस्पताल र डाक्टरको सम्बन्धमा गलत समाचार सम्प्रेषण हुनु पर्याप्त सावधनी नहुनु र बिषयगत ज्ञान नहुने पत्रकार हुनु, र मिडिया हाउसमा स्वास्थ्य बिशेषज्ञ सल्लाहकार नहुनु प्रमुख कारण हुन्। तर यति मात्र कारण भने अवस्य हैन, पत्रकार वा सम्पादकको डाक्टरलाई हेर्ने नजर होलसेलमा पुर्बग्रही हुनु पनि हो। बीर अस्पतालको एक चर्चित डाक्टरको फेसबुक पेजको एउटा स्वास्थ्य बहसमा कुनै मिडियाको सम्पादकले भन्नुभएको छ, “एक दुइ डाक्टर ठिक छन् तर अधिकांस छैनन् डा. साप। सबैको ठेक्का सहि डाक्टरले यसरि लिनथाले त बदमास डाक्टरलाई त्यसै उन्मुक्ति मिल्ने भयो।” वहाँ जत्तिको उचाइको मान्छेको कत्रो आग्रह छ भने नेपालको ९८% डाक्टर बदमास छन्। अब यस्तो पूर्वाग्रह राखेर बसेको मान्छेले मिडिया हाउस कमाण्ड गर्दा अस्पतालको बारेमा आएको समाचारमाथि सत्यता विश्लेषण गर्नेभन्दा पनि डाक्टरलाई अपराधी करार गर्ने सम्भावना ज्यादा हुन्छ। कुन अनुसन्धानको आधारमा ९८% डाक्टरलाई बेठिक भनियो त्यो मैले आजसम्म बुझेको छैन। नेपालमा जसले जे बोले पनि हुन्छ, पदीय मर्यादा समेत राख्नुपर्दैन। 
एकजना स्तम्भकार हुनुहुन्छ खगेन्द्र संग्रौला/ वहांको ट्वीटरमा लेखिएको स्टाटसमा भनिएको छ,”यमराज र डाक्टरमा के फरक हो भने, यमराजले प्राण हरण गर्छ, तर डाक्टरले पैसा, र त्यसपछि प्राण।” संयोग नै हो, यो स्टाटस लेखेको एक महिनामा वहाँको प्रोस्टेटको सफल शल्यक्रिया भयो वहाँको के हरण गरियो त्यो वहाँलाई थाहा होला, तर डाक्टर भएको नाताले एउटा कुरा त छाती ठोकेर नै भन्छु, आफ्नु ज्यान मर्ने प्रयास गरेको दुश्मन नै किन नहोस, उसको उपचार आफ्नै परिवारको जत्तिकै ध्यान पुर्बक गर्ने पेसा मेरो मात्र हो, अरु कसैको छैन। 
अर्को समाचार छ, नागरिक दैनिकको २०७५/०२/२२ मा आएको। समाचारको शिर्षक छ, “बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने बीर अस्पतालको दुइ डाक्टर फन्दामा।” यसै समाचारमा आएका आरोपिका दुइ नामहरु डाक्टर हैनन्, इमर्जेन्सीमा काम गर्ने सहयोगी हुन्, यसमा डाक्टर सामेल छैनन्। अर्को समाचार छ अन्नपुर्ण पोस्टको, २०७५/०३/३० गतेको, “चिकित्सकको गम्भीर लापरबाही: स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु” समाचार लेख्ने महामानवलाइ स्वास्थ्यचाैकीमा डाक्टर हुँदैन भन्ने समेत ज्ञान देखिएन। के आश गर्ने यस्तो कोटीको पत्रकारिताबाट?
यस्ता धेरै फेहरिस्त छ, सबै लेख्यो भने एउटा महाकाव्य नै बन्नसक्छ। यी केहि प्रतिनिधि घटना मात्र हुन्। छापामा वा मिडियामा आएका जति डाक्टर वा अस्पतालसँग सम्बन्धित समाचार वा प्रचारहरु छन्, अधिकांस झुठा, अप्रमाणित, हचुवा प्रकृतिका छन्। यसले मिडिया हाउसमा स्वास्थ्यसंग सम्बन्धित समाचारलाई कति हल्का र पूर्वाग्रहयुक्त वा दुवै मिसिएको बदनियतपूर्ण हिसाबमा लिन्छन भन्ने प्रस्ट देखिन्छ।  समाचार ग्रहण हुनु मिडियाको शक्ति हो, तर जिम्मेवारीको पाटो कतही पुरा गरिएको त के समाचारको सत्यता जान्न प्रयास समेत गरिएको हुँदैन।  यसले डाक्टर र बिरामीको दुरी बढेको छ, यत्रो फड्को मारेको स्वदेसी चिकित्सालाई जबर्जस्ति कलंकित गराएको त छदैछ, देशमा हुने सर्बशुलभ गुणस्तरीय स्वास्थ्य सेवाबाट सयौं नेपालीलाई बिमुख गराएको समेत छ। पैसा नभएका जनता पानीटंकी, मध्यम बर्ग मेदान्त र धनी बर्ग सिंगापुर अमेरिका पलायन गराएर देशको धनराशी समेत पलायन गरेको छ। पेसाकर्मीको नजरबाट एक समाचार टिआरपी होला, करियर होला, एकदिनको पेज भर्ने मसला होला, तर आम मानिसमा यसले छोड्ने प्रभाव दिर्घकालिन हुन्छ। तेसैले आम सरोकार राख्ने बिषय जस्तै उपचार, सामाजिक सद्भाव आदिजस्ता गम्भीर कुरामा समाचारको लागि समाचार नलेखौं, तथ्य मात्र लेखौं बरु दुइ दिन ढिला लेखौं। 

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...